नेभिगेशन
आर्थिक

रोजगार मेलामा ५ हजार ५ सयभन्दा बढी सहभागी, ११ जनाले पाए रोजगारी

काठमाडौं । आन्तरिक रोजगारी र उद्यमशीलता प्रवर्धनमा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको उपयोगसम्बन्धी नीतिगत संवादसहितको रोजगार मेला उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ ।

मेलामा करिब ५ हजार ५ सय ५५ जनाले अवलोकन, सीप सिकाइ र रोजगारी खोजीका लागि दर्ता गरेका थिए । करिब ४ हजार ६ सय ७४ जनाले मेलाका विभिन्न स्टलमा पुगेर रोजगारी, सीप तथा अन्य विषयमा जानकारी लिएका छन् ।

मेलामा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले रोजगारीका लागि अन्तर्वार्ता लिएर ९ जना रोजगार खोजकर्तालाई छनोट गरेको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले २ जनालाई छनोट गरेको छ । यसअनुसार मेलाबाट ११ जना रोजगार खोजकर्ता रोजगारीका लागि छनोट भएका छन् ।

मेलाअन्तर्गत १० विधाका तालिममा २०९ जना सहभागी भएका छन् । अनुपस्थित सहभागीको स्थानमा इच्छुक र उपस्थित व्यक्तिलाई प्राथमिकता दिएर तालिममा सहभागी हुने व्यवस्था गरिएको आयोजकले जनाएको छ । ओपनएआईसम्बन्धी तालिममा मात्रै करिब १२९ जनाले सहभागिता जनाएका छन् ।

करियर उडान संवाद शृङ्खलाको तेस्रो भागअन्तर्गत नेपाल सरकारका सहसचिव हेमराज तामाङले ‘राष्ट्र सेवामा युवा, राष्ट्र निर्माणमा युवा’ विषयमा संवाद तथा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा युवाको राष्ट्र निर्माणमा भूमिका र राष्ट्रसेवामा युवाको सहभागिताबारे छलफल भएको थियो ।

यसैगरी, आन्तरिक रोजगारी र उद्यमशीलता प्रवर्धनमा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको उपयोग विषयमा नीतिगत संवादसमेत आयोजना गरिएको थियो । संवादमा करिब ३०० जनाको सहभागिता रहेको थियो ।

श्रम संसारको वेबसाइट jobfair.sharamsansar.gov.np मा उपलब्ध विवरणअनुसार हालसम्म ५०१ रोजगारदाता आबद्ध भएका छन् । रोजगार खोजकर्ताको संख्या ५ हजार ८९८ पुगेको छ । प्रकाशित पद संख्या ४४२ र कुल रिक्त पद संख्या ६ हजार ३९८ रहेको छ ।

1000240748-1790948949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप आर्थिक