नेभिगेशन
आर्थिक

औलिया बाबा सहकारीको कर्जा लगानी २ करोड ७९ लाख

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्रस्थित चतराको औलिया बाबा बचत तथा ऋण सहकारी संस्थाले एकै आर्थिक वर्षमा २ करोड ७९ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । संस्थाले बचत संकलनसँगै कर्जा प्रवाह र असुलीलाई पनि अघि बढाएको छ ।

संस्थाको आइतबार सम्पन्न १७औँ साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ५ करोड ५३ लाख ५७ हजार ८२० रुपैयाँ ७८ पैसा निक्षेप संकलन भएको छ । सोही अवधिमा ४ करोड ६१ लाख ८२ हजार ८६६ रुपैयाँ ४७ पैसा बचत फिर्ता गरिएको छ ।

संस्थाका उपाध्यक्ष सोमराज बस्नेत (दिपेश) का अनुसार उक्त अवधिमा २ करोड ७९ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरिएको छ । यस अवधिमा १ करोड ८९ लाख ४४ हजार ७७१ रुपैयाँ ऋण असुली भएको छ ।

साधारणसभामा संस्थाले असल कारोबारी तथा बचतकर्तालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक पुरुषतर्फ असल कारोबारीका रूपमा जगदीशप्रसाद साह र महिलातर्फ अम्बिकादेवी भण्डारी सम्मानित भए । असल बचतकर्तातर्फ ईश्वरीदेवी दाहाल र प्रेमकुमार राईलाई सम्मान गरिएको छ ।

त्यस्तै, कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तान आस्का श्रेष्ठ र आर्यन बस्नेतलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको व्यवस्थापक रुक्मिणा श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका ज्येष्ठ नागरिक तथा आदर्श माध्यमिक विद्यालयका पूर्वप्राचार्य ओमकुमार शर्मा थिए । विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य अनिल थापा र महिला नेतृ सीता भण्डारी पौडेल सहभागी थिए । उनीहरूले सम्मानित शेयर सदस्यलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

साधारणसभामा संस्थाको लेखा समितिको प्रतिवेदन आन्तरिक लेखा समितिका संयोजक शान्तिराम खतिवडाले प्रस्तुत गरेका थिए । दिपेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजु कार्कीले स्वागत मन्तव्य दिएका थिए भने सचिव कृष्ण कट्टेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक