नेभिगेशन
समाज

सार्वजनिक बसमा पकेटमारी गर्ने ४ जना पक्राउ

काठमाडौँ — काठमाडौँको रिङरोड रुटमा चल्ने सार्वजनिक यातायातका बसमा यात्रुहरूको पकेटमारी गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय विकास लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन्। उनीहरू लामो समयदेखि रिङरोड रुटमा चल्ने बसहरूमा यात्रुहरूलाई लक्षित गरी पकेटमारी गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान सिनामंगलबाट मयुर यातायातको बस चढेका बाग्लुङका दिपेन्द्र शर्माको झोलामा रहेको नगद रकम गौशाला पुग्दासम्म चोरी भएको थियो। शर्माको झोलाबाट २ लाख ७५ हजार रुपैयाँ पकेटमारहरूले चोरी गरेका थिए।
घटना थाहा पाउनासाथ शर्माले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीको छिटोछरितो अनुसन्धानका आधारमा सोही दिन बेलुकी करिब ५ बजे पकेटमारीमा संलग्न चारै जनालाई पहिचान गरी नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानबाट काठमाडौंको सार्वजनिक बसहरूमा पकेटमारीलाई नै जीविकोपार्जनको माध्यम बनाउने गिरोह सक्रिय रहेको पाइएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज