नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

धरानमा माघे सङ्क्रान्तिको चहलपहल बढ्दो

धरान,  — माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति नजिकिँदै जाँदा धरानका बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ। माघे सङ्क्रान्ति हिन्दु धर्मावलम्बी, थारु समुदाय तथा राई समुदायले आ–आफ्नै परम्परा अनुसार मनाउने प्रमुख पर्व हो।
माघे सङ्क्रान्तिलाई लक्षित गर्दै धरान–३ स्थित पुरानो बजार र नयाँ तरकारी मण्डीमा बनतरुल, सिमलतरुल, इस्कुसको जरा, तिल, मुरै तथा तिलका लड्डु किनबेचमा व्यापारीहरूको चहलपहल बढेको छ।
गत वर्षको तुलनामा यस वर्ष तरुलको मूल्यमा केही वृद्धि भएको व्यापारीहरूले बताएका छन्। गत वर्ष रातो तरुल प्रतिकिलो १२० रुपैयाँमा बिक्री गर्दै आएका व्यापारी रमेश कार्कीका अनुसार यस वर्ष पहाडबाट आएको रातो तरुलको मूल्य प्रतिकिलो ३० रुपैयाँले बढेर १५० रुपैयाँ पुगेको छ। त्यस्तै, सेतो तरुल प्रतिकिलो करिब १०० रुपैयाँमा र बनतरुल २०० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको उनले बताए।
धनकुटा, हिले र पाख्रीबासलगायत पहाडी जिल्लाबाट आउने तरुल तराई क्षेत्रको तुलनामा केही महँगो भए पनि स्वाद राम्रो हुने भएकाले उपभोक्ताहरूले पहाडकै तरुल रुचाउने गरेको व्यापारीहरूको भनाइ छ। माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य सामान्य समयभन्दा २०–२५ रुपैयाँसम्म बढेको उनीहरूले बताए।
अर्का व्यापारी जीवन राईका अनुसार गत वर्षको तुलनामा यस वर्ष तरुलको व्यापार राम्रो रहेको छ। उनले पिडालु र सिमलतरुल प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको जानकारी दिए।
त्यसैगरी तिलको लड्डु र भुजाको लड्डु प्रतिदर्जन १०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी सरिता चौधरीले बताइन्।
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा धरानका बजारहरूमा पर्वको रौनक बढ्दै गएको देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज