नेभिगेशन
खेलकुद

२६औँ बुढासुब्बा गोल्डकप माघ २२ बाट सुरु हुने

धरान । २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार धरानस्थित होटल मेरिकनको सभाहलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।
गत वर्षसम्म ८ क्लबको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष २ क्लब थपिँदै १० क्लब सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।
धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार यस वर्षको प्रतियोगिताको कुल लागत करिब १ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ। प्रतियोगिताका लागि धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ र कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत कोशी प्रदेश सरकारले पनि १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
सहभागी टिमहरू
यस वर्षको प्रतियोगितामा सहभागी हुने १० टिमहरूमा
काठमाडौँका एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड,
एल.ए. क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, झापा–११ एफसी झापा,
रोयल थिम्पु क्लब (भुटान), जर्जियन क्लब कालिम्पोङ (भारत)
र आयोजक धरान फुटबल क्लब रहेका छन्।
पुरस्कार राशि
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र मायाको चिनो प्राप्त गर्नेछन्।
गत वर्ष उत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिँदै आएकोमा यस वर्ष भने होण्डाको डियो स्कुटर प्रदान गरिने अध्यक्ष तामाङले बताए।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ,
सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ,
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र मायाको चिनो प्रदान गरिनेछ।
धरान फुटबल क्लबको तयारी
आयोजक धरान फुटबल क्लब हालसम्म पाँच पटक फाइनलमा पुगे पनि उपविजेतामै सीमित रहँदै आएको महासचिव नवीन राईले बताए।
क्लब अध्यक्ष प्रताप तामाङले धरानमा पर्याप्त खेल मैदानको अभाव र खेलाडीहरू फुटसलतर्फ आकर्षित हुँदा उच्चस्तरीय खेलाडी उत्पादनमा कठिनाइ भइरहेको उल्लेख गरे। धरान फुटबलको सहर भएकाले स्थानीय सरकारले आधुनिक खेलकुद मैदान निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस वर्षको २६औँ संस्करणमा विजेता बन्ने लक्ष्यसहित तयारी गरिएको बताए।
प्रायोजन
प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. (गोर्खा बियर) रहेको छ।
मुख्य सह–प्रायोजक टेस्टी टेस्टी चाउचाउ (क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रा.लि.) र सह–प्रायोजक रेडबुल रहेका छन्।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि युके–हङकङ समाजकी उपाध्यक्ष चन्द्रकला लिम्बू, धरान–८ का वडा अध्यक्ष धनबहादुर राई, क्लब सदस्य अञ्जन गुरुङ, प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, महासचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद