नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगितामा मेघा ए, मेघा बि,हिमशिखर र सुनाखरी सेमिफाइनलमा प्रबेश

धरान, ८ माघ:  स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार चारवटा क्वाटरफाइनल खेल सफलतापूर्वक सम्पन्न भएका छन्।
     धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सहयोगी संस्थाका रूपमा रहेको छ।
      बिहीबार सम्पन्न खेलमा
मेघा ‘बी’ टिमले लोटस इङ्लिस बोर्डिङ स्कुललाई ६४–३४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। यस्तै, मेघा ‘ए’ टिमले आइडल इङ्लिस बोर्डिङ स्कुललाई ५०–१८ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ।
अन्य खेलमा हिमशिखर बोर्डिङ स्कुलले सियोन स्कुललाई ३७–३५ ले पराजित गर्दै कडा प्रतिस्पर्धामा जित हात पार्‍यो। यस्तै, सुनाखरी एकेडेमीले होलील्यान्ड इन्टरनेसनल स्कुलमाथि ३४–२४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ।
सरस्वती पूजाको अवसरमा शुक्रबार प्रतियोगिताका खेलहरू स्थगित गरिएका छन्। प्रतियोगिताअन्तर्गत शनिबार हुने सेमिफाइनल खेलहरूमा मेघा ‘ए’ र मेघा ‘बी’ तथा हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी आमनेसामने हुने बास्केटबल प्रशिक्षक युगल लिम्बू माबोले जानकारी दिए।
माघ ६ गते मंगलबारदेखि सुरु भएको प्रतियोगिताको समापन माघ ११ गते आइतबार हुने आयोजक धरान मेघा हिमालय कलेजले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद