नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

धरानमा सातौँ ‘मिस्टर कोशी प्रदेश’ खुला शारीरिक सुगठन प्रतियोगिता चैत्रमा

धरान : धरानमा कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ आयोजना हुने भएको छ । शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्नु, प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्नु साथै खेलाडीको आर्थिक सशक्तीकरण गर्नुका साथै खेलकुदमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
एलाइनेट जिम धरानको आयोजनामा उक्त प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिने आज धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो ।
प्रतियोगिताको पहिलो दिन प्रि–जर्जिङ चरण सञ्चालन गरिनेछ । प्रि–जर्जिङ चरणमा प्रत्येक तौल समूहबाट छ–छ जना खेलाडी छनोट गरिनेछन् । विभिन्न तौल समूहबाट छनोट भएका जम्मा ३० जना खेलाडीलाई फाइनल चरणमा समावेश गरिने प्रतियोगिता संयोजक तथा एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए।
फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई मात्र ओभरअल चरणमा सहभागी गराइनेछ । ओभरअल चरणमा प्रवेश गरेका छ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थान निर्धारण गरिनेछ । ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तथा ७५ केजीभन्दा माथिका तौल समूह समावेश गरिएका छन् । प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई रु एक लाख २५ हजार, दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु ४० हजार, चौथो हुनेलाई रु ३० हजार, पाँचौँ हुनेलाई रु २५ हजार र छैटौँ हुनेलाई रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ तथा बेस्ट टिम विधाका विजेतालाई जनही रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष लिम्बुले बताए !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद