नेभिगेशन
खेलकुद

धरानमा बुढासुब्बा गोल्डकपको रोमाञ्चक सुरुआत, आयोजक धरान एफसीको अग्रता

धरान: २६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप बुधबारदेखि शुरु भएको  छ । 
धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ । धरानले पाहुना टोली जर्जियन फुटबल क्लब कालिम्पोङलाई टाइब्रेकरमा स्तब्ध बनाउदै विजयी भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुगिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । 
निर्धारित समयको खेलमा पहिलो हाफको नवौं मिनेटमा जर्जियनले अग्रता लिएको थियो । हेमराज भुजेलले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । तर, १९ औं मिनेटमा धरानका तपन कार्कीले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसरहरु खेर फालेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा धरानका विवेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईको प्रहार गोलमा परिणत भएको थियो । जर्जियनबाट भने सरद मुण्डा र साइजाको प्रहार मात्र गोलमा परिणत भयो । बक्सर प्रधानको प्रहार आकासियो भने विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपरले रोकेपछि पहुना टोली पहिलो खेलबाट नै घर फर्कियो ।  खेलको म्यान अफ दि म्याच धरानका विपुल मगर घोषित हुदै नगद १० हजार हात पारे । प्रतियोगितामा बिहिबार रोयल थिम्पु भुटान र झापा ११ बीच हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद