नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

झापा ११ ले आरटीसी भुटानलाई २–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश

धरान । धरान–१६ स्थित रंगशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा झापा ११ ले भुटानी टोली रोयल थिम्पु फुटबल क्लब (आरटीसी भुटान) लाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न खेलमा झापा ११ ले खेलको सुरुआतदेखि नै आक्रामक र दवाबपूर्ण खेल प्रस्तुत गर्दै भुटानी टोलीमाथि निरन्तर चुनौती पेश गरेको थियो। झापाको यही रणनीति अन्ततः जितमा परिणत भयो।
खेलको ३६औँ मिनेटमा झापा ११ का जर्सी नम्बर २० का सुनील खड्का ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। भुटानको डिफेन्सलाई छल्दै उनले गरेको चुनौतीपूर्ण गोलसँगै झापा पहिलो हाफमा १–० ले अगाडि रह्यो।
दोस्रो हाफ सुरु भएको करिब ४८औँ मिनेटमा झापा ११ का जर्सी नम्बर १३ का राजेश दाहाल ले दोस्रो गोल गर्दै झापाको जित सुनिश्चित गरे। त्यसपछि खेलको निर्धारित समय तथा थप गरिएको पाँच मिनेटसम्म भुटानी टोलीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। भुटानले पाएको दुई पटकको कर्नर अवसरसमेत सदुपयोग गर्न सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा ११ का राजेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।
यस जितसँगै झापा ११ ले प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद