नेभिगेशन
खेलकुद

२६ औं बुढासुब्बा गोल्डकपः ट्राइब्रेकरमा धरान स्तब्ध, लालिगुरास पोखरा सेमिफाइनलमा

धरान । धरान १६ स्थित रङ्गशालामा जारी २६ औं संस्करणको अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पाचौ दिनको खेलमा ट्राइबे्रकरमा धरान फुटबल क्लब धरानलाई पराजित गर्दै लालिगुरास एसोसिएसन, पोखरा सेमिफाइनलमा प्रवेश गरेको  छ ।

निर्धारित समयमा दुबै तर्फबाट गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा धरानलाई ५–४ को गोल अन्तरले पराजित गर्दै पोखरा विजयी भएको हो । धरान फुटबलबका टिम क्याप्टेन दोर्जे तामाङको प्रहार गोलमा परिणत नभएपश्चात पोखराको जित भएको हो । खेलको म्यान अफ द म्याच लालीगुराँसका गोलकिपर कुम्बा देउवाले १० हजार रुपैयाँ प्राप्त गरे ।
धरान फुटबल टिमका सविन राई, विवेक राई, प्रज्वल थापा र नगेन राईले गोल गरेका थिए । टाइब्रेकरमा लालीगुराँस पोखराका तर्फबाट राम थापा, टिकाराज गुरुङ, सुदिप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराए ।

निर्धारित ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा पनि गोल भएन ।
आयोजक धरान फुटबल क्लब प्रतियोगिताको पाँच पटकको उपविजेता हो ।

भोली मंगलबारको खेल झापा–११, झापा र सात दोबाटो यूथ क्लब काठमाडौँबिच प्रतिस्पर्धा आयोजकले जनाएको छ ।

बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद