धरान, २७ माघ — हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित ‘जव लिंक कनेक्ट’ मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको हो।
वेस्टर्न सिड्नी युनिभर्सिटीअन्तर्गत First Year Global Challenge – Think Like an Innovator पाठ्यक्रम अध्ययनका क्रममा यस एपको अवधारणा परिष्कृत गरिएको हो। जव लिंक कनेक्ट सन् २०१४ मा डिके दाहालद्वारा नेपाली समुदायका लागि भाइबर र फेसबुकमार्फत सुरु गरिएको निर्माण समूहको आधुनिक डिजिटल संस्करणका रूपमा विकसित गरिएको जनाइएको छ।
एप सार्वजनिक गर्दै जव लिंक कनेक्टका संस्थापक डिके दाहालले हङकङमा नेपाली समुदाय गम्भीर रोजगारी संकटबाट गुज्रिरहेको बताए।
उनले भने, “आज हङकङमा धेरै नेपालीहरू कामको अभावका कारण बेरोजगार छन्। जव लिंक कनेक्ट हाम्रो समुदायलाई आत्मनिर्भर बनाउने सानो तर प्रभावकारी प्रयास हो, जहाँ काम खोज्ने र काम दिने दुवैलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको छ।”
दाहालका अनुसार जव लिंक कनेक्ट विशेषगरी ब्लु–कलर कामदारलाई लक्षित गरी डिजाइन गरिएको मोबाइल–मैत्री एप हो। यस एपमार्फत कामदारहरूले आफ्नो सिप र अनुभवका आधारमा घरमै बसेर रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताहरूले आवश्यक जनशक्ति छिटो र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
“यो एप कुनै एजेन्सी होइन, बरु समुदायमै आधारित डिजिटल पुल हो,” दाहालले थपे, “हामीले हङकङबाट सेवा सुरु गरेका छौँ, अब छिट्टै नेपालसहित अन्य देशहरूमा पनि यसको सेवा विस्तार गर्ने योजना बनाएका छौँ।”
जव लिंक कनेक्टमार्फत निर्माण क्षेत्र, खाद्य तथा पेय पदार्थ, घरेलु सहयोगी, सुरक्षा गार्ड तथा अंगरक्षक, चालक, उत्पादन तथा निर्माण उद्योग, यातायात तथा ढुवानी, मर्मतसम्भार, मर्मत तथा स्थापना सेवा, स्वास्थ्य सेवा सहयोगलगायत विभिन्न क्षेत्रमा रोजगारी अवसरहरू उपलब्ध हुने जनाइएको छ।
हाल हङकङमा रोजगारीको अभाव बढिरहेको अवस्थामा जव लिंक कनेक्टले नेपाली समुदायभित्र कामदार र रोजगारदाताबीच विश्वासिलो डिजिटल माध्यमको भूमिका खेल्ने अपेक्षा गरिएको छ। दाहालले हङकङस्थित सम्पूर्ण नेपाली समुदायलाई एपको प्रयोग र प्रचार–प्रसारमा साथ दिन आग्रह पनि गरेका छन्।
नेपाली समुदायलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको जव लिंक कनेक्टले हङकङमा मात्र नभई विश्वभर रहेका नेपालीहरूका लागि रोजगारी खोज्ने तरिकामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।