नेभिगेशन
खेलकुद

सातौँ झापा गोल्डकपमा एपीएफको शानदार जित, ४–१ ले भुटान पराजित गर्दै सेमिफाइनल प्रवेश

झापा — सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिता (विनोद बस्नेत स्मृति संस्करण) अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले आरटीसी भुटान (रोयल थिम्पु कलेज) लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।


झापाको रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा एपीएफले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै भुटानलाई दबाबमा राखेको थियो। खेलको सुरुवाती ६ मिनेटमै प्रदीप लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कप्तान हरि कार्कीले दोस्रो गोल थपे।
२२औँ मिनेटमा समिराज थोकरको प्रहार भुटानी गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएपछि कप्तान कार्कीले अवसरको सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरे। पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको एपीएफले खेलभरि आक्रमणलाई निरन्तरता दिएको थियो।
खेलको ७९औँ मिनेटमा एपीएफका दीपेश धिमालले डिबक्सभित्र किन्जाङ तेन्जिङ शेर्पालाई फल गरेपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरलाई शेर्पाले सदुपयोग गर्दै भुटानका लागि सान्त्वना गोल फर्काए।


तर ८३औँ मिनेटमा पुनः कप्तान हरि कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीको जित सुनिश्चित गरे। कार्कीको उत्कृष्ट प्रदर्शनसँगै एपीएफले ४–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो।
खेलको ‘म्यान अफ द म्याच’ एपीएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अब भोलि हुने अन्तिम क्वार्टरफाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया) बीच हुनेछ।
प्रतियोगिताका विजेताले नगद १५ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने तय गरिएको छ।
यसैबीच, बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एक थान टेलिभिजन उपहार प्रदान गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद