नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

धरानमा अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट सम्पन्न, १८ जना फाइनलमा प्रवेश

धरान । धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान–८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आइतबार सम्पन्न भएको छ।


धरानभरिका ११ वटा प्लस टु कलेजबाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना विद्यार्थी फाइनल चरणका लागि छनोट भएका छन्।


फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा.बि., पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.बि.का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा.बि.का सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत मा.बि.का केवल मिश्र र सुमन भट्टराई, डिपोट मा.बि.की क्यासी राई, धरान–मेघा हिमालयनका दिविका राई र सन्जिना राई फाइनलमा प्रवेश गरेका छन्।


त्यस्तै सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति मा.बि.की जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि फाइनलका लागि छनोट भएका छन्।


प्रतियोगिताको शीर्षक “हामी सचेत युवा कि भीड पछ्याउने पुस्ता?” रहेको थियो। अधिकांश प्रतिस्पर्धीहरूले विषयलाई समसामयिक रहेको बताउँदै युवाहरू भीडको पछि अन्धाधुन्ध लाग्नुभन्दा सही–गलत छुट्याएर यथार्थको पछि लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू भीड पछ्याउने होइन, भीडलाई सही बाटोमा हिँडाउन सक्ने बन्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए।


प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्की र भानु स्मृति मा.बि.का शिक्षक ओम नाथ रिमाल रहेका थिए।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले ¥याडिकल लाईट नेपाल प्रा.लि., धरानले प्रतियोगिता आयोजना गरेको हो। आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरैलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर दिइएको बताए।


कार्यक्रमका अतिथि सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह आफ्ना धारणा राखेको भन्दै प्रशंसा गरे। उनले विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरे।


कार्यक्रमका सहयोगी संस्थामा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. र धरान–३ स्थित चुबासा एजुकेसन अफेयर रहेका छन्। कार्यक्रम सञ्चालन पुजा लम्सालले गरेकी थिइन्।


प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वनालाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति मा.बि.मा हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन