नेभिगेशन
कला/मनोरञ्जन

हिबिस्कस डान्सिङ र सिङ्गिङ आइडलको उपाधि रेश्मा र प्रनितालाई

धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको हिबिस्कस सिङ्गिङ एन्ड डान्सिङ आइडल सम्पन्न भएको छ ।

विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र कला प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

सिङ्गिङ आइडलतर्फ कक्षा ९ मा अध्ययनरत रेश्मा तामाङ प्रथम भएकी छन् । कक्षा १० का सबिन बोहोरा द्वितीय र कक्षा ७ का आसिन राई तृतीय भएका छन् ।

त्यस्तै, डान्सिङ आइडलतर्फ कक्षा ६ की प्रनिता तामाङ प्रथम भएकी छन् । कक्षा १० की आस्था उदास द्वितीय र कक्षा ७ की युनिका श्रेष्ठ तृतीय भएका छन् ।

गायन विधाको निर्णायकमा संगीत शिक्षक विजय गजमेर र मनिष श्रेष्ठ रहेका थिए । नृत्य विधाको निर्णायकमा धरान डान्स गार्डेनका सन्देश तिम्सिना र नृत्य शिक्षिका सिमरन राई रहेका थिए । कार्यक्रम अनुष्का लिम्बू र सुभद्रा खड्काले सञ्चालन गरेका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्नो रुचि र क्षमता पहिचान गर्न, सार्वजनिक रूपमा प्रस्तुति दिन र आत्मविश्वास बढाउन सहयोग पुग्ने बताए ।
अध्ययनसँगै कला, संगीत र नृत्यजस्ता सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिताले व्यक्तित्व विकास र प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने र कला, संगीत तथा नृत्य क्षेत्रमा क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्