नेभिगेशन
कला/मनोरञ्जन

कोशीपीडितका कथा अब वेब सिरिजमा, फूलपातीदेखि आउँदैछ ‘कोशीका कथाहरू’

धरान । कोशी नदीको कटान र बाढीबाट विस्थापित बस्तीका संघर्ष, पीडा र सपनाको कथा समेटिएको वेब सिरिज ‘कोशीका कथाहरू’ आगामी फूलपातीदेखि प्रदर्शनमा आउने भएको छ ।

सुहाङ कुलुङको कथा, निर्देशन, सम्पादन र छायाङ्कन रहेको सिरिज असोज ३१ गतेदेखि हाम्रोपिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ । सिरिजको १ मिनेट ३१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भइसकेको छ ।

सप्तकोशी तटीय क्षेत्रका नदी उकास बस्ती र त्यहाँका नागरिकले वर्षौंदेखि भोग्दै आएको विस्थापन, भूमिहीनता र राज्यको बेवास्तालाई सिरिजको कथावस्तु बनाइएको निर्देशक कुलुङले बताए ।

‘सप्तकोशीको नदी उकास बस्ती श्रीलङ्का टप्पुदेखि गरैयासम्मका कथा छन्, जहाँ मानिसहरूले विभिन्न किसिमका दुःख पाएका छन्,’ उनले भने, ‘कोशीबाट प्रताडित भएर वर्षौंदेखि भूमिहीन जीवन बिताउन बाध्य नागरिकका पीडा र उनीहरूले बर्सेनि भोग्दै आएको समस्यासँगै राज्यको दृष्टिकोणमाथि कथा बुन्ने प्रयास गरेका छौं ।’

सिरिजमा सुबिना बानिया र अर्जुन श्रेष्ठ प्रमुख भूमिकामा छन् । राजन घिमिरे, लक्ष्मण कटुवाल, हिमाल राई, सुमन लामिछाने र प्रदीप बास्मैतलगायत कलाकारको पनि भूमिका रहेको छ ।

सिरिजको छायाङ्कन सप्तकोशी तटीय क्षेत्रका विभिन्न स्थानमा गरिएको छ । ‘कोशीका कथाहरू’ प्रत्येक १५ दिनमा एउटा भागका रूपमा हाम्रोपिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्देशक कुलुङले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्