नेभिगेशन
कला/मनोरञ्जन

सोनाहाङ गणेश राईको ‘यात्री हुँ’ मा जीवन यात्राको चित्रण

धरान । लामो समयदेखि धरानमा शिक्षण पेशामा आवद्ध लोटस इङ्लिस बोर्डिङ स्कुल*का निर्देशक सोनाहाङ गणेश राईले  ‘यात्री हुँ म त एउटा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै राईले '४० वर्षअघि नागाल्याण्डको लोङखिम तुन्साङमा रचना गरेको, शब्द, संगीत र कथा भएको 'यात्री हुँ म' प्रस्तुत गरेको उल्लेख गरेका छन् ।  

जीवनलाई यात्राका रूपमा चित्रण गर्दै पुराना सम्झना, बिछोड र मायाको अस्थिरतालाई प्रस्तुत गरिएको गीत ‘यात्री हुँ म त एउटा’ सोनाहाङ गणेश राईको कथा, गीत, संगीत तथा स्वर रहेको छ । गीतले मानिसको जीवनलाई निरन्तर बगिरहने यात्रासँग तुलना गरेको छ । ‘आज यहाँ, भोलि कहाँ’ भन्ने भावमार्फत गीतले जीवनको अनिश्चितता र यात्राका क्रममा हुने भेट तथा बिछोडलाई प्रस्तुत गरेको छ ।

गीतमा यात्रामा निस्किएको पात्रले हरेक साँझ नयाँ ठाउँमा पुग्ने र विगतका सम्झनालाई कोसेलीका रूपमा साथमा बोकेर अघि बढ्ने भाव व्यक्त गरिएको छ । जीवनको यात्रामा फेरि भेट नहुन सक्ने भन्दै मायाको बन्धनमा नबाँधिन आग्रह गरिएको छ ।

‘कलकल झरना झैं जाँदैछु बगेर, केवल सम्झना कोसेली लिएर’ भन्ने भावले जीवनको निरन्तर गति र यात्राका क्रममा बाँकी रहने सम्झनालाई जोडेको छ । गीतले जीवन नै खोक्रो हुँदै गएको अवस्थामा भौतिक कुरा बोकेर जानुको अर्थ के भन्ने प्रश्नसमेत उठाएको छ । त्यस्तै, माया नै झुटो हुने अवस्थामा त्यसको मूल्य के रहन्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।

गीतको कोरसमा आगनसाङ राईले साथ दिएका छन् । गीतको रेकर्डिङ धरानस्थित म्युजिक मिडिआमा गरिएको हो । मनोज मोहतेले एरेन्ज गरेका छन् ।

ganesh-rai-1790663212.jpeg
गीतको म्युजिक भिडियोमा सोनाहाङ गणेश राई, सन्जिता शाही राई, आगनसाङ राई, आगस राई र चन्द्र लिम्बू शाहीको फिचरिङ रहेको छ । सिनेमाटोग्राफी एडम लिम्बूको रहेको भिडियोको सम्पादन तथा निर्देशन विज्ञान राईले गरेका छन् ।

जीवनलाई एउटा यात्राका रूपमा हेर्ने पात्रको कथा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । विगतका दिनको सम्झना गर्दै अघि बढिरहेको पात्रले सम्बन्ध, प्रेम र बिछोडलाई आफ्नो यात्राका अनुभवका रूपमा लिएको छ । फेरि भेट नहुन सक्ने यथार्थलाई स्वीकार गर्दै उसले मायालाई बन्धन नबनाउन आग्रह गरेको छ ।

गीतले प्रेम र सम्बन्धलाई स्थायी उपलब्धिभन्दा पनि जीवन यात्रामा जोडिएका सम्झनाका रूपमा प्रस्तुत गरेको छ । यही भावमार्फत ‘यात्री हुँ म त एउटा’ ले जीवनको क्षणभङ्गुरता, बिछोड र सम्झनालाई सांगीतिक अभिव्यक्ति दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्