नेभिगेशन
कला/मनोरञ्जन

क्यान्भसमा अध्यात्म कोर्दै : थाङ्काका सिद्धहस्त, राजकुमार विष्ट

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ५, कालाबन्जरस्थित एउटा शान्त कोठामा सजिएका क्यान्भसहरू । जहाँ वर्षौँदेखि साधना गरिरहेका सिद्धहस्त राजकुमार विष्ट मसिनो ब्रसले कलात्मक बुट्टाहरू भर्न व्यस्त देखिन्छन् । विगत बीस वर्षदेखि थाङ्का चित्रकलामा अनवरत अभ्यासरत उनी अचेल आफ्नै गाउँका युवालाई यो प्राचीन कला हस्तान्तरण गर्न तल्लीन छन् ।

राजकुमार क्यान्भसमा 'ढुक्कर' देवी (बुद्धको जटाबाट उत्पत्ति भएकी) को भव्य रूप सिर्जना गरिरहेका छन् । चित्रकलालाई अत्यन्त बहुमूल्य र आकर्षक बनाउन यसको अन्तिम चरणमा देवीका हात तथा अन्य विविध अंगहरूमा सुनको जलप भर्ने काम गरिरहेका छन् ।

यो चित्र सामान्य चित्र मात्र नभएर गहिरो आध्यात्मिक रहस्यको प्रतिविम्ब हो । राजकुमारका अनुसार ढुक्कर देवीको रूपलाई सृष्टिका सम्पूर्ण प्राणीहरूको रक्षा गर्ने विराट स्वरूपमा परिकल्पना गरिएको छ । 

'देवीको हजार वटा टाउको, हजार वटा हात र हजार वटा खुट्टा छन् र ती खुट्टामुनि सृष्टिका सबै प्राणीहरूको एउटा सभा (एसेम्बली) छ,' उनी व्याख्या गर्छन्, 'एउटा टाउकोमा तीनवटा आँखाको अनुपातले हेर्दा लाखौँ आँखाहरूले पूरै सृष्टिलाई नियालिरहेको, मानिसका कर्महरू याद गरिरहेको र संरक्षण गरिरहेको आभास हुन्छ ।' 

1000233355-1788430484.jpg
तिब्बती शास्त्रअनुसार सेतो छाता ओढेकी यी देवीका हातहरूमा रहेका विभिन्न हतियारहरूले ज्ञानको प्रतीक र अहंकारलाई काट्ने शक्तिको प्रतिनिधित्व गर्छन् । यसको गहिरो शास्त्रीय व्याख्या ठूला तिब्बती रिम्पोछेहरूले मात्र गर्न सके तापनि राजकुमारले वर्षौँको अनुभव र कलात्मक अनुभूतिथाङ्कामा उतारेका छन् ।

थाङ्का चित्रलाई 'स्क्रोल पेन्टिङ' भनिन्छ, जसलाई सजिलैसँग बेरेर वा रोल गरेर राख्न सकिन्छ । यो विशेषगरी सुतीको कपडामा बनाइन्छ । कपडालाई चित्र कोर्न योग्य (क्यान्भस) बनाउने विधि पनि निकै परम्परागत छ । विशेष प्रकारको माटो र जनावरको छालाबाट बनेको गमको मिश्रण प्रयोग गरेर सुतीको कपडामा आधार तयार पारिन्छ । यो कला ऐतिहासिक रूपमा नेपाल र भारतबाट तिब्बत पुगेको भए तापनि यसको संरक्षण र सम्बर्द्धन तिब्बतमै बढी भएकाले यसलाई 'क्लासिकल टिबेटन थाङ्का' विधाअन्तर्गत राखिएको छ ।

राजकुमार विष्टका लागि थाङ्का कोर्नु जीविकोपार्जनको माध्यम मात्र होइन, यो उनको जीवन, अध्यात्म र अस्तित्वको कडी हो । बुद्ध धर्म र दर्शनमा गहिरो रुचि राख्ने उनी बुद्धको एउटा उपदेशबाट निकै प्रभावित छन्— 'कुनै पनि काम गर्दा आफूभन्दा कमजोर र न्यून आय भएकाहरूलाई हेर्नु, जसले मनमा सधैँ खुसी दिन्छ ।' यही विचारका कारण आर्थिक रूपमा उतारचढाव आउँदा पनि उनी कहिल्यै दुःखी हुँदैनन् ।

बुद्धको अहिंसाको मार्गलाई पछ्याउँदै राजकुमारले विगत ९-१० वर्षदेखि पूर्ण रूपमा शाकाहारी भोजन अंगीकार गरिरहेका छन् । 'यो काम गर्दा मलाई म जिउँदो छु भन्ने दिनदिनै महसुस हुन्छ र भोलि म मर्दैछु भन्ने चेत पनि यही चित्र कोर्दा भइरहन्छ,' राजकुमार आफ्नो गहिरो आध्यात्मिक अनुभूति सुनाउँछन्, 'जिउँदो हुनुभन्दा म भोलि मर्दैछु भन्ने फिल हुनु मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।'

उनका अनुसार थाङ्काको मूल्य पैसामा तोकिए पनि कलाको वास्तवमा कुनै मूल्य हुँदैन । जसरी तिब्बती गुरुहरूले महिनौँ लगाएर बालुवामा बनाएको सुन्दर मण्डला पूजा सकिएपछि विसर्जन (नष्ट) गर्छन्, त्यसरी नै यो थाङ्का पनि एउटा विधि र संकेत मात्र हो । उनले बनाएका चित्रहरू कुन-कुन देशमा पुगेर कसरी पूजनीय बनिरहेका होलान् भन्ने सोचेर नै उनी सन्तोष र आफ्नो अस्तित्वको सार्थकता महसुस गर्छन् ।

विगत ७-८ वर्षअघि काठमाडौँबाट आफ्नै गाउँको कालाबन्जर फर्किएका राजकुमारको उद्देश्य स्थानीय स्तरमै दाजुभाइ तथा दिदीबहिनीहरूलाई रोजगारी र सीप दिनु थियो । तर, गाउँमा व्यावसायिक रूपमा काम अगाडि बढाउनु सोचेजस्तो सहज भने रहेन ।

1000233354-1788430534.jpg
थाङ्का सिक्न निकै धैर्य र लामो समय (नियमित कोर्सका लागि ४ देखि ५ वर्ष) आवश्यक पर्छ । उनले प्रशिक्षार्थीहरूलाई 'काम गर्दै सिक्ने र कमाउने' वातावरण त सिर्जना गरे, तर युवाहरूमा चाँडै विदेश जाने र तत्काल धेरै पैसा कमाउने प्रवृत्तिका कारण २-३ वर्ष सिकेपछि काम छोड्ने ठूलो समस्या छ । सुरुवाती सिकाइको चरणमा ठूलो तलब दिन नसकिने र धेरै पारिश्रमिक दिँदा बजारको प्रतिस्पर्धामा चित्रको लागत मूल्य बढी भई टिक्न गाह्रो हुने चुनौती उनी सामना गरिरहेका छन् ।

यति हुँदाहुँदै पनि राजकुमारले हाल ७ जनालाई नियमित रूपमा सिकाउँदै काम गराइरहेका छन् । तालिम पूरा गरिसकेका ४-५ जनालाई न्यूनतम मासिक पारिश्रमिक र कार्यक्षमता अनुसार वार्षिक रूपमा तलब वृद्धि गर्ने गरी व्यावसायिक रूपमा स्थापित गराएका छन् ।

स्थानीय स्तरमा रोजगारी सिर्जना र कलाको जगेर्नाका लागि सरकारी स्तरबाट प्रभावकारी पहल हुनुपर्ने राजकुमारको बुझाइ छ । परम्परागत रूपमा वर्षौँदेखि एउटै प्रकृतिका तालिमहरू दिइराख्नु र त्यसको प्रभावकारिताको मूल्यांकन नगर्नुभन्दा स्थानीय तथा प्रदेश सरकारले थाङ्का जस्ता फरक, विशिष्ट र व्यावसायिक सीपमूलक तालिमहरू सञ्चालन गर्न सहयोग गरेमा यस क्षेत्रको कला र युवा रोजगारी दुवैमा ठूलो टेवा पुग्ने आशा उनी व्यक्त गर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्