नेभिगेशन
समाचार

प्रेस काउन्सिल नेपाल को ध्यानाकर्षण: निर्वाचन अवधिमा बीबीसीको डकुमेन्ट्री प्रसारणप्रति आपत्ति

धरान, १५ मंसिर २०८२ — प्रेस काउन्सिल नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा विदेशी सञ्चार माध्यमबाट प्रसारित एक डकुमेन्ट्री सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा BBC World Service द्वारा तयार गरिएको Shot Like Enemies: Inside Nepal's Gen Z uprising शीर्षकको डकुमेन्ट्री युट्युब च्यानलमार्फत समेत सार्वजनिक गरिएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार निर्वाचनको मौन अवधिमा विदेशी सञ्चार माध्यमबाट यस्ता सामग्री प्रसारण/सम्प्रेषण हुनु संवेदनशील विषय भएको काउन्सिलको ठहर छ। Gen-Z पुस्ताले सञ्चालन गरेको आन्दोलनसँग सम्बन्धित घटनाबारे उच्चस्तरीय छानबिन भई प्रतिवेदन आउने प्रक्रियामा रहेका बेला निर्वाचनलाई प्रभाव पार्न सक्ने आशयका सामग्री पुनःप्रसारण वा सामाजिक सञ्जालमार्फत सेयर गरिएको भन्दै काउन्सिलले चासो व्यक्त गरेको हो।
काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ (संशोधित) तथा निर्वाचन आचारसंहिता, २०७२ का प्रावधान स्मरण गराउँदै सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मौन अवधिमा मतदातालाई प्रभाव पार्न सक्ने सामग्री पुनःप्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ। विशेषगरी विदेशी सञ्चार माध्यममा प्रकाशित वा प्रसारित सामग्री नेपाली सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत पुनःसम्प्रेषण गर्दा कानुनी र आचारगत दायित्वको ख्याल गर्न काउन्सिलले चेतावनी दिएको छ।
विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रताको सम्मान गरिने स्पष्ट पार्दै, निर्वाचनजस्तो संवेदनशील समयमा निर्वाचन परिणाममा असर पर्न सक्ने सामग्रीप्रति जिम्मेवार बन्न सबै पक्षलाई अपिल गरिएको छ। साथै, कूटनीतिक समन्वयमार्फत विषय सम्बोधन गर्न सरकार र निर्वाचन आयोगसँग पहल गरिने पनि काउन्सिलले जनाएको छ।
काउन्सिलले आमसञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रचलित कानुन र आचारसंहिताको पालना गर्न पुनःआग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्