नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

वडा नं १४ , २५ औं गोधुली रनिङ कपको बिजेता

निक्कै प्रतिस्पर्धात्मक खेलमा वडा १५ ले पनि गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा दोस्रो पटक उपाधि चुम्ने सपना अधुरै रह्यो ।

धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै  वडा नं १४ गोधुलीमा च्याम्पियन भएको हो।  यसअघि वडा नं १४, २१ औं सँस्करणमा पनि च्याम्पियन भएको थियो । 

पहिलो हाफ गोलरहित भएको खेलमा  वडा १४ का विवेक राईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भएको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा वडा १५ ले पनि गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा दोस्रो पटक उपाधि चुम्ने सपना अधुरै रह्यो । 

विजेता वडा नं १४ ले नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता वडा १५ ले नगद ७५ हजार हात पार्यो । साथै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)का बुबाले विजेता र उपविजेता दुवै टिमलाई २५/२५ हजार थप नगद पुरस्कार दिएका थिए । 

फाइनल खेलको प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित भए सङ्गै नगद ५ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै वडा नं १४ का विवेक राईले नगद रु १५ हजार र ट्रफी प्राप्त गरे ।  प्रतियोगिताको बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर वडा १५ का एरिक गुरुङ, बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट स्ट्राइकर वडा १४ का निमेष तामाङ र बेष्ट कोच  वडा १४ का शिव राई भए । उनीहरु सबैले जनही नगद ५ हजार ५ सय र ट्रफी हात पारे । 

यसैगरि, प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका वडा १७ का कृष्ण राईले नगद ७ हजार ५ सय प्राप्त गरे भने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिक घोषित हुदै नगद ५ हजार ५ सय पाए । फेयर प्ले टिम  भने वडा नं १७ ले हात पार्यो ।

 प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडाअध्यक्षहरु कृष्ण भट्टराई, विवेक राई, गल्फ संघका अध्यक्ष एवं सर्वोत्कृष्ट खेलाडी पुरस्कारका प्रायोजक जितेन्द्र राईलगायतले पुरस्कार बितरण गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद