१७ असार, हङकङ । हङकङका एक दर्जनभन्दा बढी नेपाली समुदायका संस्थाले हङकङ–काठमाडौं उडान खारेज नगर्न नेपाल वायुसेवा निगम र हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा ज्ञापनपत्र बुझाएका छन्।
नेपाली समुदायका विभिन्न १४ वटा संस्थाले काठमाडौं–हङकङ उडान कटौती गर्नुको सट्टा शनिबार पनि अतिरिक्त उडान सञ्चालन गर्न माग गर्दै बुधबार संयुक्त ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरूले नेपाल वायुसेवा निगमको हङकङ–काठमाडौं उडान व्यावसायिक हवाई रुट मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन, प्रवासी नेपाली समुदायसँगको भावनात्मक सम्बन्ध, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार तथा एसिया–प्रशान्त क्षेत्रमा नेपालको रणनीतिक उपस्थितिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरेका छन्।
हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष तथा नमस्ते ट्राभल्स एन्ड टुर्स लिमिटेडका सञ्चालक टंक रानाले भने, "हालै नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडान सेवा कटौती वा खारेज गर्ने तयारी गरेको भन्ने कुरा सुनियो। यसले हामीलाई चिन्तित बनाएको छ। हङकङ सेक्टरको उडान बन्द गर्नुको सट्टा यसलाई थप सुदृढ, भरपर्दो र विस्तारित बनाउनुपर्ने हाम्रो माग छ। त्यसैका लागि हामीले दुवै निकायमा ज्ञापनपत्र बुझाएका हौँ।"
उनका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था भएकाले गोर्खा (नेपाली) र हङकङबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन सेवा कटौती गर्नुको सट्टा निगमलाई पुनर्जीवन दिएर सेवा विस्तार गर्नु आजको आवश्यकता हो।
रानाले भने, "हङकङमा बेलायती गोर्खा परिवार, व्यवसायी तथा कामदारलगायत करिब ४५ हजार नेपाली समुदायको बसोबास छ। यस समुदायका लागि आफन्तसँगको भेटघाट तथा आवतजावतको प्रमुख माध्यम हवाई सेवा नै भएकाले यो रुट व्यावसायिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ।"
निगमको हङकङस्थित कार्यालयमा ज्ञापनपत्र बुझाउँदै संयोजक रानाले हङकङ–काठमाडौं उडानको महत्त्वबारे विस्तृत जानकारी गराएका थिए। उनका अनुसार हङकङजस्तो उच्च प्रतिफल दिने रुटमा सेवा विस्तार गर्नु भनेको नेपाल वायुसेवा निगमले विदेशी मुद्रा आर्जन गरी देशमा भित्र्याउनु र राष्ट्रिय ध्वजावाहकको बजार हिस्सा जोगाउनु हो।
उनले भने, "हङकङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै प्रमुख ट्रान्जिट हबमध्ये एक हो। अष्ट्रेलिया, न्युजिल्यान्ड, उत्तर अमेरिकालगायत मुलुक जान चाहने नेपाली यात्रुका लागि यो रुट सबैभन्दा सहज जडान बिन्दु हो। यो रुट कमजोर बनाउनु भनेको नेपाली यात्रुलाई विदेशी एयरलाइन्समा पूर्ण रूपमा निर्भर बनाउनु हो।"
डाइनामिक ट्राभल्स एन्ड टुर्सका सञ्चालक दासुराम पराजुलीका अनुसार निगमको हङकङ स्टेशनले गरेको पछिल्लो बजार अध्ययन, ट्राभल एजेन्सीहरूसँगको समन्वय तथा हङकङस्थित नेपाली समुदायसँगको प्रत्यक्ष अन्तरक्रियाले हङकङ–काठमाडौं सेक्टरमा निगमप्रति अत्यन्त सकारात्मक धारणा र उच्च माग रहेको पुष्टि गरेको छ।
उनले भने, "निगमले उपलब्ध गराएको प्रवर्द्धनात्मक निःशुल्क ब्यागेज सुविधाले बुकिङ र लोड फ्याक्टरमा समेत वृद्धि ल्याएको छ। यस्तो अवस्थामा नेपाल वायुसेवा निगमले हङकङ–काठमाडौं उडानलाई अझ उच्च प्राथमिकता दिनु आवश्यक छ।"
संस्थाहरूले बुझाएको ज्ञापनपत्रमा हङकङ–काठमाडौं उडान कटौती वा रद्द गर्ने निर्णय भए विगतको नकारात्मक अनुभव दोहोरिने, उडान रद्दको त्रास पुनः जागृत हुने तथा यात्रुको विश्वास फेरि गुम्ने गम्भीर जोखिम रहेको उल्लेख गरिएको छ। यसले निगमको ब्रान्ड छवि र राष्ट्रिय प्रतिष्ठामा समेत दीर्घकालीन क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
ज्ञापनपत्रमा भनिएको छ, "विगतमा पटक–पटक भएका उडान रद्द तथा अनियमित उडान तालिकाका कारण हङकङस्थित नेपाली समुदायले रोजगारी गुमाउने, कार्यस्थलमा समयमै फर्कन नसक्ने, पारिवारिक योजना बिथोलिने लगायतका आर्थिक तथा मानसिक क्षति व्यहोर्नुपरेको थियो। यसले यात्रुको विश्वास र निगमको बजार हिस्सामा प्रतिकूल असर पारेको थियो। विगत एक वर्षयता तुलनात्मक रूपमा नियमित सञ्चालन र समयपालनका कारण गुमेको बजार र विश्वास बिस्तारै पुनः स्थापित हुँदै गएको छ। हङकङस्थित नेपाली समुदायमा 'नेपाल वायुसेवा निगम बचाऔँ, राष्ट्रिय ध्वजावाहकलाई प्राथमिकता दिऔँ' भन्ने सकारात्मक भावना पुनः जागृत भएको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा कुनै पनि सार्वभौम राष्ट्रको अन्तर्राष्ट्रिय उपस्थिति र प्रतिष्ठाको प्रतीक हो।"
ज्ञापनपत्रमा नमस्ते ट्राभल्स एन्ड टुर्सका सञ्चालक टंक रानासहित सनराइज ट्राभल (एचके) लिमिटेडका राजेन्द्रकुमार श्रेष्ठ, हिमालयन टुर्स एन्ड ट्राभल्सका पम्फा ज्ञवाली, फिस्टेल टुर्स एन्ड ट्राभल्सका आशा सुनुवार, डाइनामिक ट्राभल्स एन्ड टुर्स लिमिटेडका इन्द्र वनेम, एमआईजी अल्फा ट्राभल्स लिमिटेडका इन्द्र पुन, ब्लु स्टार एक्सप्रेसका रामली राई, एजी एक्सप्रेसका तुल्सी उप्रेती, एयर लजिस्टिक ग्रुपका म्यान्डी चुङ तथा केएस ग्लोबल एयर एन्ड सी लजिस्टिक लिमिटेडका साराह युवेनलगायतले हस्ताक्षर गरेका छन्।
यसैगरी हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, एनआरएनए हङकङका अनु राई, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशि मदन राई तथा नेपाली आदिवासी जनजाति महासंघ हङकङका एमभी थापा मगरले पनि ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
उनीहरूले निगमका कन्ट्री म्यानेजर मिगी केसी र स्टेशन म्यानेजर गुरुशरण शाहलाई भेटेर आफ्ना माग नेपाल सरकारसमक्ष पुर्याइदिन आग्रह गरेका थिए।
निगमलाई ज्ञापनपत्र बुझाएपछि प्रतिनिधिमण्डलले बुधबार नै हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा पुगेर महावाणिज्यदूत सतिसकुमार गुरुङलाई भेटी आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको संयोजक रानाले बताए।