नेभिगेशन
समाचार

धरान हङकङ मञ्चमा संजोक अध्यक्ष, विकास सचिव

सुनसरी । हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न धरान हङकङ मञ्चको १२औँ अधिवेशनले संजोक राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

हङकङमा रहेका धरानेहरूको हकहितका लागि सन् १९९९ मा स्थापना भएको उक्त संस्थाले धरानका पूर्वमेयर मनोज मेन्याङ्बोको पहलमा निर्माण भएको धरान घण्टाघर तथा धरान रङ्गशालाको पर्खाल र प्रवेशद्वार निर्माणमा विशेष योगदान दिएको जनाएको छ।

हङकङमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा रविन तामाङ, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई (सन्जु) लाई चयन गरेको छ। त्यसैगरी, सदस्यहरूमा रोशन लिम्बू, किशोर लिम्बू, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बू, खगेन्द्र लिम्बू (कैलास) र उदय लिम्बू सर्वसम्मत रूपमा चयन भएका छन्।

निर्वाचन समितिमा मञ्चका संस्थापक इन्द्र वनेमको संयोजकत्वमा पूर्वअध्यक्षहरू विष्णु पाख्रिन र नानीचन्द्र सिंगक रहेका थिए। सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको जानकारी गराउँदै निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएको थियो।

शपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष संजोक राईले हङकङमा रहेका धरानेहरूलाई एकताबद्ध गर्दै संस्थालाई थप उचाइमा पुर्‍याउने र धरानको विकासका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनमा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङले धरानको ऐतिहासिक महत्त्व र मञ्चको भूमिकाको प्रशंसा गरे। महासंघकी पूर्वअध्यक्ष रिता गुरुङले धरान हङकङ मञ्च महासंघको मेरुदण्डजस्तै रहेको बताइन्। महासंघका अर्का पूर्वअध्यक्ष प्रदीप थापाले धरानको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा मञ्चसँग सहकार्य गर्न आफू सधैं तत्पर रहेको बताए।

बन्दसत्रमा मञ्चका सचिव रमेश चाम्लिङ नाम्राछाले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष मनोज क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

धरान युथ एसोसिएसनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर लिम्बू, धरान–१७ समाज हङकङका अध्यक्ष मधुकुमार राई र जीवन यात्रा समूहका प्रतिनिधि विक्रम आलेलगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार