नेभिगेशन
समाचार

सुनसरी प्रहरीद्वारा एक वर्षमा ६६ हजारभन्दा बढी नागरिकलाई सेवा, पाँच करोडभन्दा बढी राजस्व संकलन

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०८२/८३ मा ६६ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ । 

प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेले वार्षिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै सेवा प्रवाहदेखि अपराध अनुसन्धान, हराएका व्यक्तिको खोजी, लागूऔषध नियन्त्रण र राजस्व संकलनसम्मका उपलब्धि प्रस्तुत गरेका हुन् ।

प्रस्तुत विवरणअनुसार आर्थिक वर्षभर नागरिक सहायता कक्षमार्फत ६६ हजार २३३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये २६ हजार ९१६ महिला, ३४ हजार ६६२ पुरुष, एक हजार १२० ज्येष्ठ नागरिक, तीन हजार ३१ बालबालिका तथा १११ अशक्त रहेका छन् ।

1000221741-1784211376.jpg
 

घरेलु हिंसासम्बन्धी ६९५ वटा निवेदन दर्ता भएकोमा सबै मिलापत्र तथा सहमतिमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ । अदालत पठाउने वा सम्पर्कविहीन रहेका कुनै पनि निवेदन नरहेको विवरणमा उल्लेख छ ।

हराएका व्यक्तिसम्बन्धी १०४ वटा निवेदन दर्ता भएकोमा १०० जना फेला पारिएको र पाँच जनाको खोजी कार्य जारी रहेको छ।
ठाडो उजुरीअन्तर्गत चार हजार ३३३ निवेदन दर्ता भएका छन्। तीमध्ये चार हजार २३३ फर्छ्योट गरिएको, १०४ वटा न्यायिक समितिमा पठाइएको र कुनै पनि उजुरी फर्छ्योट हुन बाँकी नरहेको प्रहरीले जनाएको छ।

1000221742-1784211322.jpg
 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभर ६९२ कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट २९ हजार ७६४ जना लाभान्वित भएका छन्। लाभान्वितमध्ये १२ हजार ८३६ पुरुष र १६ हजार ९२८ महिला रहेका छन्।

प्रहरीले आर्थिक वर्षमा दुई हजार १७० मुद्दा दर्ता गरेको छ। तीमध्ये एक हजार ५५१ मुद्दा फर्छ्योट भएका छन् भने ६१९ मुद्दा अनुसन्धानकै क्रममा छन्। दुई वर्षभन्दा पुराना पेन्डिङ मुद्दामध्ये १९४ झुण्डी फर्छ्योट, ३५ विष सेवन र २४४ भवितव्य प्रकृतिका रहेका छन्।

जघन्य अपराधतर्फ १६ मुद्दा दर्ता भई १४ वटा फर्छ्योट भएको र दुई वटा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ। पीडित फरार रहनुका कारणमध्ये एक जनाको मानसिक सन्तुलन ठीक नभएको तथा एक जना भारतीय प्रतिवादी फरार रहेको विवरणमा उल्लेख गरिएको छ।

1000221740-1784211430.jpg
 

चोरीसम्बन्धी हालसम्म २०५ मुद्दा दर्ता भएकोमा १९८ वटा फर्छ्योट गरिएको छ भने सात वटा अनुसन्धानका क्रममा छन्। चोरीका घटनामा संलग्न दुई हजार २२१ जना प्रतिवादी पक्राउ परेका छन्। चोरीका मुद्दामा सुन, चाँदी, सवारी साधन र खाद्यान्नलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

हातहतियार तथा खरखजानासम्बन्धी चार मुद्दा दर्ता भई पाँच जना पक्राउ परेका छन्। यस क्रममा दुई थान कटुवा पेस्तोल, एक थान भरुवा बन्दुक, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ।

भन्सार छली नियन्त्रणतर्फ पाँच करोड ४३ लाख २८ हजार ८८० रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम एक करोड ७६ लाख २४ हजार ३४५ रुपैयाँले बढी हो। यस अवधिमा २१ जना पक्राउ परेका छन् भने ६० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

1000221738-1784211467.jpg

अवैध काठ तथा नदीजन्य पदार्थ ओसारपसार नियन्त्रणबाट आठ लाख ८१ हजार ९९० रुपैयाँ राजस्व संकलन भएको छ। यस क्रममा ७७ वटा सवारी साधन नियन्त्रणमा लिइएको तथा ३६ जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रणतर्फ प्रहरीले एक हजार ८०९ दशमलव १६४ केजी गाँजा, एक हजार १११ दशमलव ६३ ग्राम ब्राउनसुगर, तीन लाख ५३ हजार ५५२ वटा ट्रामाडोल तथा स्पास्मो–प्रोक्सिभोन क्याप्सुल र २५२ बोतल लागूऔषधजन्य तरल पदार्थ बरामद गरेको जनाएको छ। यस अवधिमा ४०६ लागूऔषधसम्बन्धी मुद्दा दर्ता भई ६९६ जना पक्राउ परेका छन् भने १२४ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

अदालतका फैसला कार्यान्वयनतर्फ ४८३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट दुई सय ३६ वर्ष पाँच महिना २५ दिन कैद सजाय तथा नौ करोड ५० लाख ७७ हजार ६२१ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा एक करोड १७ लाख ७० हजार ७५१ रुपैयाँ जरिवाना असुल भएको थियो।

1000221739-1784211505.jpg
 

वार्षिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै एसपी थेवेले शान्ति सुरक्षा कायम गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, अपराध नियन्त्रणलाई प्रविधिमैत्री र समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा जिल्ला प्रहरी कार्यालय सुनसरीले आगामी वर्ष पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार