नेभिगेशन
आर्थिक

कोशी प्रदेशमा लगानीको ढोका खुल्दै छः मुख्यमन्त्री कार्की

 
विराटनगरः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा लगानी आकर्षित गर्न निजी क्षेत्रको भरोसा बोकेर अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
 
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लगानीका सम्भावनाहरू पहिचान गरी निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्ने सरकारको प्राथमिकता भएको बताएका हुन्।
 
“निजी क्षेत्रले कानुन संशोधनको माग गरेको छ, हामी त्यसका लागि तयार छौँ,” उनले भने, “लगानीमैत्री वातावरण बनाउन संघीय सरकारसँग सहकार्य गर्न पछि हट्दैनौं।”
 
उनका अनुसार स्थानीय तहदेखि संघीय तहसम्मका समन्वयमा बनाइएका परियोजनामध्ये ७१ वटा परियोजनाहरू लगानी सम्मेलनमार्फत प्रस्तुत गरिएको छ। “निजी क्षेत्र उत्साहित देखिएकाले हामीले यो सम्मेलनको आयोजना गरेका हौं,” उनले भने।
 
मुख्यमन्त्री कार्कीले प्रदेशको समृद्धिका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै संघीय सरकारले समेत लगानीसम्बन्धी कानुनमा आवश्यक संशोधन गरिरहेको जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्