नेभिगेशन
समाचार

तौलमा ठगी गर्ने कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना

विराटनगर । ग्यासको तौलमा उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ ।

बुढीगंगा गाउँपालिका–४ स्थित उद्योगमा बजार अनुगमनका क्रममा ग्यासको तौलमा कैफियत भेटिएको हो । उद्योगले सिलिन्डरमा मापदण्डभन्दा कम ग्यास भरेको पाइएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार उद्योगमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको आकस्मिक तौल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एउटा सिलिन्डरमा १४.२ केजी हुनुपर्नेमा १३.७४५ केजी मात्रै ग्यास भेटिएको थियो ।

अन्य ६३ वटा सिलिन्डरमा पनि मापदण्डभन्दा कम ग्यास भेटिएको थियो। ती सिलिन्डरमा औसत १४.१८५ केजी ग्यास मात्रै रहेको पाइएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा रित्तो सिलिन्डरको तौलमा समेत कैफियत भेटिएको थियो। उद्योगले रित्तो सिलिन्डरको तौल १०० देखि १५० ग्रामसम्म बढी देखाएको प्रशासनको भनाइ छ । यसबाट उपभोक्ताले तोकिएको परिमाणभन्दा कम ग्यास पाउने अवस्था देखिएको प्रशासनले जनाएको छ ।

अनुगमनको जानकारी पाएपछि उद्योग बन्द गरेर कारबाहीबाट बच्न खोजेकोसमेत प्रशासनले जनाएको छ। अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनमा असहयोग गरेको भन्दै उद्योगमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार जरिवाना

सरकारी अनुगमन टोलीलाई असहयोग गरेको आरोपमा विराटनगर–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई पनि कारबाही गरिएको छ।

अनुगमनका क्रममा जाँचबुझमा अवरोध गरेको भन्दै प्रशासनले ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरेको हो। प्रशासनले ट्रेडर्सलाई आगामी दिनमा अनुगमनमा सहयोग गर्न सचेतसमेत गराएको छ।

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ता ठगी र कालोबजारीविरुद्ध शून्य सहनशीलताको नीति लिइएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

एलपी ग्यासजस्तो संवेदनशील वस्तुमा हुने ठगीलाई गम्भीर रूपमा लिइने उनले बताए। आगामी दिनमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउने प्रशासनको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार