नेभिगेशन
समाचार

खुल्ला नाका सुरक्षाका लागि चुनौती : प्रविधिको प्रयोग गर्न कोशी प्रहरीको ब्रिफिङ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  सीमानाकामा प्रविधिको प्रयोग गरिनुपर्ने ब्रिफिङ गरेको छ ।

मङ्गलबार कोशी प्रदेशका पत्रकारसँग अन्तर्कृया तथा भेटघाट गर्दै एसएसपी योगेन्द्रसिंह थापाले नाकामा सिसीटिभी क्यामेरा, डिटेक्टिभ मेसिनलगायतका प्रविधि जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । 

कोशी प्रदेश प्रहरीका सुरक्षा चुनौती बारे पत्रकारसमक्ष कार्यपत्र प्रस्तुत गर्दै एसएसपी थापाले अन्तर्राष्ट्रिय खुल्ला सिमानाकाका कारणसमेत सुरक्षा चुनौती थपिएको बताए । 

सामाजिक सञ्जालको दुरुपयोगदेखि खुला सीमासम्म

सामाजिक सञ्जालको दुरुपयोग, खुला सीमाबाट हुने अपराध, लागूऔषध कारोबार तथा आर्थिक र साइबर अपराध कोशी प्रदेशको प्रमुख सुरक्षा चुनौतीका रूपमा देखिएका छन् । 

कोशी प्रदेश प्रहरीले प्रस्तुत गरेको वर्तमान सुरक्षा चुनौतीसम्बन्धी कार्यपत्रमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, गलत सूचना र घृणात्मक अभिव्यक्ति फैलाउने प्रवृत्ति बढिरहेको उल्लेख छ। त्यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्नुका साथै सुरक्षा व्यवस्थापनमा समेत चुनौती थपिएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार झुटा वा मिथ्या सूचना दिएर आफूअनुकूल निर्णय गराउन दबाब सिर्जना गर्ने प्रवृत्ति पनि चुनौतीका रूपमा देखिएको छ। आम नागरिकमा कानून पालना गर्नुभन्दा त्यसलाई छल्ने प्रवृत्ति बढ्नु तथा सरकार वा सरकारले गरेका कामविरुद्ध नकारात्मक प्रचारप्रसार गर्ने गतिविधिले समेत सुरक्षा व्यवस्थापनलाई जटिल बनाइरहेको कार्यपत्रमा उल्लेख छ ।

1000227152-1786446331.jpg
त्यस्तै धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक विवाद र विकासविरोधी गतिविधिलाई पनि प्रहरीले सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ। विशेषगरी नेपाल आयल निगम तथा जलविद्युत् उत्पादन आयोजनालक्षित गतिविधिले विकास निर्माणका काममा चुनौती सिर्जना गर्न सक्ने प्रहरीको आकलन छ ।

कोशी प्रदेशको अर्को प्रमुख चुनौती अन्तर्राष्ट्रिय खुला सीमा रहेको कार्यपत्रमा उल्लेख छ । खुला सीमाका कारण अवैध गतिविधि नियन्त्रण, अपराध रोकथाम तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रहरीको निष्कर्ष छ।
त्यसैगरी अवैध लागूऔषधसम्बन्धी अपराध, स्रोतसाधनको अपर्याप्तता तथा आर्थिक र साइबर अपराध अनुसन्धानका लागि दक्ष जनशक्तिको कमीलाई पनि प्रदेश प्रहरीले प्रमुख चुनौतीमा राखेको छ ।

चुनौती सामना गर्न प्रहरीको बहुआयामिक रणनीति
प्रहरीले सुरक्षा चुनौती सामना गर्न अन्य सुरक्षा तथा सम्बन्धित निकायसँग समन्वय बढाउने रणनीति अघि सारेको छ । 

सामाजिक सञ्जालको नियमनसँगै आम सञ्चारकर्मीको व्यावसायिकता र सकारात्मक सोच प्रवर्द्धन गर्ने तथा प्रहरीको क्षमता अभिवृद्धि गर्ने योजना कार्यपत्रमा समेटिएको छ ।

समुदायसँगको सम्बन्धलाई सुरक्षा व्यवस्थापनको महत्वपूर्ण आधार बनाउँदै प्रहरीले प्रभावकारी समुदाय–प्रहरी साझेदारी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यसबाट अपराध नियन्त्रणमा स्थानीय समुदायको सहभागिता बढाउने प्रहरीको लक्ष्य छ ।

प्रहरीले सूचना संयन्त्रको स्तरोन्नति र सीमा क्षेत्रमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राखेको छ । खुला सीमाबाट हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गर्ने रणनीति अघि सारिएको हो ।

लागूऔषध नियन्त्रणका लागि भने प्रहरीले विभिन्न अभियानलाई निरन्तरता दिने जनाएको छ । कार्यपत्रमा एफएएन, मेगा क्यान, ज्यान तथा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ लगायतका कार्यक्रम सञ्चालन गरी लागूऔषधविरुद्ध अभियान चलाउने उल्लेख छ ।

कोशी प्रहरीले सुरक्षा चुनौतीको बदलिँदो स्वरूपअनुसार परम्परागत प्रहरी कार्यशैलीसँगै सूचना, प्रविधि, समुदायको सहभागिता र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिने रणनीति अघि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार