धरान । धरानको देशीलाइन, पुतली लाइन, भानुचोक, महेन्द्रपथका व्यवसायीले व्यवसाय चलायमान बनाउन छलफल र सल्लाह गर्ने आश्वासन पाए पनि धरान उपमहानगरपालिकाले पहल नगरेको भन्दै व्यवसायीले १५ बुँदे स्मरण-पत्र बुझाएका छन् ।
धरानको मुख्य बजार क्षेत्रको व्यापार घट्दै गएको भन्दै देशीलाइन, पुतलीलाइन, भानुचोक, महेन्द्रपथलगायत क्षेत्रका उद्योगी–व्यवसायीले धरान उपमहानगरपालिकासँग बजार चलायमान बनाउने ठोस योजना माग गरेका छन् । व्यवसायीले यातायात व्यवस्थापनदेखि पार्किङ, घरभाडा, कर छुट र बजार पूर्वाधारसम्मका विषय समेटेर उपमहानगरपालिकालाई १५ बुँदे स्मरणपत्र कार्यवहाक नगरप्रमुख अइन्द्रविक्रम बेघालाई बुझाएका हुन् ।
व्यवसायीका अनुसार नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएपछि पहाडी क्षेत्रबाट धरान आउने यात्रुवाहक सवारी साधनलाई घण्टाघरअगाडि यात्रु ओराल्ने र बजार क्षेत्रबाट यात्रु चढाउने व्यवस्था गर्नुपर्ने उनीहरूको मुख्य माग छ । स्मार्ट बसपार्कका कारण भानुचोक, देशीलाइन, पुतलीलाइन र महेन्द्रपथ आसपासको व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले पुरानो बजार क्षेत्रमा ग्राहकको आवागमन बढाउने व्यवस्था गर्न माग गरेका छन् ।
व्यवसायीले यसअघि उपमहानगरपालिकासँग बजार व्यवसायलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा छलफल र सल्लाह गर्ने आश्वासन पाए पनि त्यसअनुसार पहल नभएको बताएका छन् । यही विषयमा पुनः ध्यानाकर्षण गराउँदै उनीहरूले स्मरणपत्र बुझाएका हुन् ।
स्मरणपत्रमा धरानबाट पहाडतर्फ जाने सबै सवारी साधनलाई घण्टाघरअगाडि यात्रु चढाउने र पहाडबाट फर्किएका सवारी साधनले भानुचोकमा यात्रु ओरालेर गन्तव्यतर्फ जाने व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै, व्यापार व्यवसाय घट्दै गएको अवस्थामा घरधनीलाई पनि व्यवसायीको समस्याबारे बुझाउनुपर्ने र घरभाडा घटाउने वातावरण बनाउन उपमहानगरपालिकाले पहल गर्नुपर्ने व्यवसायीको माग छ । घरधनी र घरभाडामा व्यवसाय सञ्चालन गर्ने दुवै पक्षको हितलाई ध्यानमा राखेर घरभाडा निर्देशिका तयार गर्न पनि उनीहरूले माग गरेका छन् ।
देशीलाइनका व्यवसायीले उठाउँदै आएको दुईतर्फी सवारी सञ्चालनको माग सम्बोधन गर्नुपर्ने उनीहरूको अर्को माग छ । व्यवसायीले धरानको आर्थिक गतिविधि चलायमान बनाउन पुरानो अस्पतालको जग्गा प्राप्त भइसकेकाले त्यस स्थानमा तत्काल नगर अस्पताल सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् ।
स्मार्ट बसपार्कदेखि भानुचोकसम्म सटल बस सेवा सञ्चालन गरी धरानवासीलाई यातायात सुविधा उपलब्ध गराउनुपर्ने माग पनि स्मरणपत्रमा छ । यस्तो सेवा उपमहानगरपालिकाले आफैं सञ्चालन गर्नुपर्ने वा सिटी सफारी तथा अटो संघमार्फत सञ्चालनको जिम्मा दिनुपर्ने व्यवसायीको प्रस्ताव छ । नगर बस सञ्चालनमा सहयोग पुर्याउन उपमहानगरपालिकाले बढीमा पाँच लाख रुपैयाँसम्म अनुदान र तीन महिनासम्म दैनिक २० लिटर इन्धन उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
सटल बस र नगर बस सञ्चालन नभएसम्म स्मार्ट बसपार्कबाट छुटेका सवारी साधनलाई भानुचोक छाताचोक हुँदै लक्ष्मी सडक, पुरानो बजार, सिंहदेवी चोक र माछाभौडी हुँदै गन्तव्यतर्फ जाने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
भानुचोकमा व्यवस्थित पार्किङस्थल निर्माण गरी बाहिरबाट आउने पर्यटकका सवारी साधनसमेत पार्क गर्न मिल्ने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् । अहिले भानुचोकमा छरिएर रहेका सिटी तथा अटोहरूलाई एकीकृत गरी एउटै स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।
व्यवसाय घटिरहेको अवस्थामा नगरपालिकाले लिने व्यवसाय कर, सम्पत्ति करलगायत विभिन्न करमा छुटको व्यवस्था गर्नुपर्ने माग पनि स्मरणपत्रमा उल्लेख छ ।
धरानमा व्यवस्थित ‘ढुवानी अफिस’ नभएकाले विभिन्न ठाउँबाट आउने सामान इटहरीमा अनलोड गरी पुनः धरान ल्याउँदा सामान महँगो पर्ने भन्दै व्यवसायीले एउटा साझा ‘ढुवानी अफिस’को व्यवस्था गर्न पनि माग गरेका छन् ।
धरानलाई महँगो सहरका रूपमा चिनिन थालेकाले त्यसको असर व्यवसायमा परेको व्यवसायीको निष्कर्ष छ । यसका लागि धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघले संयुक्त पहल गरेर धरानको पहिचान र बजार प्रवर्द्धन अभियान सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।
व्यवसायीले घण्टाघरअगाडि रहेको खाली जग्गालाई नगरपालिकाको आन्तरिक आम्दानीको स्रोतका रूपमा प्रयोग गर्दै बहुउद्देश्यीय ‘स्मार्ट कम्प्लेक्स’ निर्माण गर्न प्रस्ताव गरेका छन् । त्यसमा माथिल्लो तलामा बगैँचा र रेस्टुरेन्ट तथा तल्लो भागमा बैंकिङ क्षेत्र र तल बजार सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ ।
त्यस्तै, भानुचोकमा खाली रहेका तीन क्षेत्रमध्ये एउटामा पहाडतर्फ जाने साना यात्रुवाहक सवारी साधन सञ्चालन गर्नुपर्ने माग छ ।
उद्योगी–व्यवसायीले आफ्नो उद्योग वा व्यवसायका लागि राखेको साइनबोर्डलाई लिएर नगरपालिकाले शुल्क लिने गरेकोप्रति पनि आपत्ति जनाएका छन् । उनीहरूले व्यवसायीले आफ्नै पसल वा उद्योगमा राखेको साइनबोर्डलाई विज्ञापनका रूपमा शुल्क लगाउन नहुने र त्यसका लागि सर्वोच्च अदालतको नजिरसमेत रहेको स्मरणपत्रमा उल्लेख गरेका छन् ।
धरानका विभिन्न क्षेत्रमा सञ्चालित सिटी सफारी र अटोको व्यवस्थापन गर्न ‘पठाओ’ जस्ता एपमा सबैलाई समेटेर सिटी सफारी तथा अटोको समस्या समाधान गर्न पनि व्यवसायीले माग गरेका छन् ।
व्यवसायीले यी मागलाई यातायात व्यवस्थापनमा मात्र सीमित नराखी धरानको समग्र बजार पुनरुत्थानसँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार यातायातको सहजता, पार्किङको व्यवस्था, घरभाडा र करमा राहत तथा बजारको पूर्वाधार विकाससँगै ग्राहकको आवागमन बढाउने योजना ल्याउन सके मात्र धरानको सुस्ताएको व्यापारिक गतिविधि पुनः चलायमान बनाउन सकिन्छ ।
व्यवसायीले उपमहानगरपालिकाले आफ्ना मागलाई तत्काल सम्बोधन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउन माग गरेका छन् । स्मरणपत्रको बोधार्थ सुनसरी उद्योग वाणिज्य संघ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ कोशी प्रदेश, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक कार्यालय धरान तथा धरानका १ देखि २० नम्बर वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समेत दिइएको छ ।