२०६७ साल असार २७ गते विहान ५ बजे नेपालकै पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा दिदी वित्नु भएको खबर आधार घण्टाभित्र धरानभरी सनसनी फैलिसकेको थियो । त्यतिन्जेल म लगायत एमाले नेता कार्यकर्ता र धरानका अन्य दलहरु र सर्वसाधारण तथा आफन्तहरु दिदीको धरान ७ स्थित निवासमा भेला भइसकेका थियौं ।
दिदीको शव भानुचोक लोकतान्त्रिक चौतारीमा राख्ने अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, उपसभामुख पूर्णकुमारी सुवेदी आउने तय भए अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भानुचोकमा रहेका सवारीसाधनहरु व्यवस्थापनको काम गर्ने नेतृत्वबिच छलफल भएपछि लक्ष्मी बानियाँ, कमल भट्टराई सहितका मजदुर नेताहरु काममा लाग्नुभयो । त्यसै दिन दिदीको अन्त्यष्टि गर्ने तय भए अनुसार पार्टी नेतृत्व ध्रुवलाल श्रेष्ठ (लीला दिदीका श्रीमान) संग कुराकानी पछि सोही अनुसार परिचालन भयो ।
सो बिहानैदेखि अत्यधिक वर्षा भएकाले प्रम, सभामुख र उपसभामुख काठमाण्डौंबाट कोही पनि आउन सक्नुभएन र अन्तिममा सुनसरीमै रहनु भएको शान्ति तथा पुनस्थापना मन्त्री रकम चेम्जोङले दिदीको पार्थिव शरीरमा नेकपा (एमाले) को झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो र सुनसरी र कोशीमा रहनुभएका नेता र सर्वसाधारण जनताले श्रज्ञाञ्जली दिएपछि खत्रीधारामा दिदीलाई सदाका लागि विदाई गरिएको थियो ।
दिदीलाई सदाका लागि विदाई गरिएकोपनि आज १५ वर्ष भएछ । दिदीको राजनीतिक समर्पण, त्याग, संघर्ष, जेल जीवन, राजकिय निकायमा प्राप्त गर्नु भएको उच्च ओहदा, जीवनको अन्तिम समयमा विताउनु भएको पीडादायिक अवस्था र साहित्यिक जीवनका आयामहरु सबैलाई सरसरर सम्झिने हो भने प्रेरणाका पुञ्ज बन्छ । उमेरका हिसावले म भन्दा २७ वर्ष पहिले जन्मनु भएकी दिदीसंग राजनीतिक योगदान र चेतना स्तरको तुलना हुने कुरै आउँदैन । मेरो पुस्ताले धरानको राजनीतिमा लीला दिदीहरुलाई हेर्दै, सुन्दै र पढ्दै दिदीहरुकै पदचापको पछि लागेको हो ।
दिदीको निधन हुँदा वहाँ ६२ वर्षको हुनुहुन्थ्यो मेरो उमेर ३५ वर्षको थियो । वहाँ नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो म सुनसरी जिल्ला कमिटी सदस्य थिएँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सचिव र औजार दैनिकको प्रधान सम्पादकका रुपमा काम गरिरहेको थिएँ । त्यति ठुलो राजनीतिक उचाई भएको दिदी र बढी काठमाण्डौंमा रहनु भएकालेपनि सरोबर भेटघाट र सम्पर्क हुने कुरै भएन तर वहाँ उपसभामुखको जिम्मेवारीबाट विदाई हुनुभएपछि वहाँसंग भेटघाट बाक्लिएको हो ।
२०५१ सालदेखि नै दम रोगको लक्षण देखा परेको दिदीलाई २०५५ सालदेखि रोग थला पार्नेगरी गाज्यो । बैशाखको गर्मीमा पनि शरीर ढाक्ने ज्याकेट, घाँटी छोप्ने पछ्यौरी, तातो पानीको थर्मस दिदीको पहिचान जस्तै थियो । पार्टी कार्यालय, साहित्यिक कार्यक्रम, अन्य कार्यक्रमहरुमा दिदी त्यही गेटअपमा आक्कलझुक्कल देखिनुहुन्थ्यो गफिनुहुन्थ्यो । २०६२/०६३ सालको १९ दिने जनक्रान्तिमा समेत दिदी त्यसरी नै उपस्थित हुनुहुन्थ्यो । आन्दोलनमा समेत वहाँ बिरामी अवस्थामा पनि पार्टी कार्यालयमा अक्सर आइरहनुहुन्थ्यो । फुर्सदको समयमा २०४६ अघिका आन्दोलनका किस्साहरु हामीलाई झिजो नमानी सुनाउनु हुन्थ्यो ।
यसै क्रममा वहाँले पञ्चायती कालमा धरानमा भएको विद्यार्थी आन्दोलनका क्रममा छाता चोकमा विद्यार्थी नेता मनोज मेयाङ्बोको हातमा प्रहरीले चारैतिरबाटा घेरेर पक्राउ गर्नखोज्दा ज्याकेट मात्रै प्रहरीको हातमा रहेरको र मनोज मेयाङ्बो उम्किएको राती बिबिसी समाचारमा घटना विवरण प्रशारण गरेको सुनाउँनु भएको थियो ।
जनआन्दोलनपछि दिदीको अवस्था विग्रदै गएको थियो । कतिपटक म दिदीको घरमै पुगेर पुराना कुराहरु गरेको छु । दिदीका रचनाहरु दिदीकै मुखबाट सुनेको छु । दिदीको स्वास्थ्य निकै विग्रिएपछि वहाँले “म नरहेपनि” भन्ने शिर्षकमा कविता लेख्नु भएको रहेछ । मलाई घरमा बोलाउनु भयो, कविता सुनाउनु भयो र यो कविता औजारमा प्रकाशन गर्दा कसो हुन्छ भन्नुभयो । त्यो कविता छापियो कि छापिएन मलाई एकिन भएन । मैले दिदीलाई हतोत्साहित नहुन यस्ता रचनाहरु भन्दा थोरै थोरै भएपनि अनुभवहरु लेख्न सुझाएको थिए । दिदीले हुन्छ म लेख्छु भन्नु भएको थियो । लेख्नु भयो कि छैन ध्रुवलाल दाइलाई बुझन बाँकी छ ।
पछिल्लो समय वहाँलाई रोगले सारै नै च्याप्न थाल्यो, दैनिकजसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहनु पर्ने अवस्था आयो । कहिले कहिले त राती राती आकष्मिक उपचार कक्षमा लानु पर्ने अवस्था आयो । ध्रुवलाल दाइलाई दतेहेरो पीडा थियो पहिलो अस्पताल ओहोरदोहोरको पीडा, दोस्रो अस्पताल र चिकित्सकहरुले तत्काल रेस्पोन्स नगर्ने तेस्रो आर्थिक संकटको । अप्ठ्यारो पर्नासाथ दिदीले मलाई कल गर्नु हुन्थ्यो पछिपछि ध्रुवलाल दाइले सम्पर्क गर्नुहुन्थ्यो हामी सहयोगका लागि तत्काल तयार हुन्थ्यौ र अस्पताल पुग्थ्यौँ ।
म सम्झिन्छु राजेश विद्रोही, जनऋषि राई, उपेन्द्र चाम्लिङ, विकास चाम्लिङ, रत्न आचार्य लगायतका टोली हामी निरन्तर दिदीको उपचारका लागि बीपी प्रशासन र चिकित्सकहरुसंग अनुरोध गरिहाल्थ्यौँ । र बीपी र चिकित्सकहरुले सकेको सहयोग समेत गरिरहेका थिए । उपचारमा आर्थिक समस्या आएपछि समाचारहरु प्रकाशन भयो पार्टीको तर्फबाट सहयोग जुट्यो, माधव नेपाल नेतृत्वको सरकारले समेत सहयोग गर्यो ।
तर, कसैको केही लागेन दिदीले १६ वर्ष अघि आजकैदिन अर्था २०६७ साल असार २७ गते बिहान ५ बजे प्राण त्याग गर्नुभयो । रोगको लक्षण २०५१ सालमै हो २०५५ सालमा वहाँलाई रोगले च्यापेको हो जतिवेला वहाँ देशकै पहिलो उपसभामुख हुनुहन्थ्यो । वहाँले चाहनुभएको भए राज्यको खर्चमा देश विदेशमा उपचार गराउन सक्नुहुन्थ्यो । तर, वहाँले त्यासो गर्नु भएन इमानको बाटो रोज्नुभयो ।
संक्षिप्तमा लीला दिदी ः
जन्म २००५ साल कार्तिक ५ गते ताप्लेजुङ जिल्ला सिकैचा गाविस साङमाङ पाँचपात्ले ।
आमा, बुवा सुकमती मेयाङवो, अम्बरवहादुर मेयाङवो ।
डिपो हाइस्कूल, शिक्षा सदन मावि, बनारस र काठमाण्डौमा एम्.ए. अध्ययन ।
शिक्षकहरु ः पदम न्यौपाने, नरेश शाक्यका राजनीतिक प्रेरणा र साहित्यकार वेणु आचार्य र मनमोहन पलिखेको प्रेरणाबाट राजनीतिमा संलग्न ।
२०२२ र ०२३ सालमा पञ्चायत विरोधी विद्यार्थी राजनीति आन्दोलनको प्रभाव । नेपाली भूमि अतिक्रमण र उत्तरी सिमामा भारतले चेकपोष्ट राखेको विरोधमा धरानमा भएको आन्दोलनको प्रभावमा राजनीतिमा संलग्न हुनुभयो ।
धरानमा भएको डिआईजी काण्ड लगायत विद्यार्थी आन्दोलनमा सहभागी ।
शिक्षा सदनमा १७ वर्षकै उमेरमा २०२२ सालमा विद्यार्थी युनियनको सचिव हुनुभयो । त्यतिबेला गठन भएको लोकनृत्य संघमा रहेर नाचगान र नाटकमा अभिनय गर्नुभयो । त्यहा“ रहेर भित्र–भित्र पञ्चायतविरोधी पर्चा पम्प्लेट तयार पार्ने बाहिर चाहि“ सा“स्कृतिक कार्यक्रम मार्फत आन्दोलनमा योगदान गर्नुभयो ।
“गंगालालको चिता” नामको नाटकमा प्रमुख नायिकाको अभिनय गर्नुभयो । तर त्यो नाटक प्रशासनले देखाउन दिएन । त्यसपछि गोपालराज जोशीले लेखेको नाटक “प्रतिशोध” प्रदर्शन गरियो । यस नाटकमा पनि मुख्य नायिकाको भूमिका निर्वाह गर्नुभयो ।
२०२४ सालमा वहां काठमाण्डौको अस्कल कलेजमा आई.एस्सी अध्ययन गर्नुभयो । त्यस समय वहां अनेरास्वियुमा रहेर काम गर्नुभयो ।
नेकपा (माले) मा २०३६ सालमा सम्पर्कमा आउनुभयो, बनारसमा पढ्दा बस्दा धादिङका नारायण आचार्यले पार्टी सम्पर्क दिएका थिए । झलनाथ खनाल, सि.पी. मैनाली र मोदनाथ प्रश्रित आदि नेतासंग वहांले बनारसमै भेटघाट गर्नुभएको हो ।
धरानमा भने डि.पी. आचार्य, सीता पाठक र राजेश वान्तवा मार्फत पार्टी सम्पर्कमा रहनु भएको हो ।
२०३७ सालमा धरान अनेम संघको नगर अध्यक्ष हुनुभयो । त्यसबेला पार्टीले अगुवा महिला कार्यकर्तालाई समेटेर बनाएको क्रान्तिकारी महिला संघको नगर सदस्य समेत हुनुभयो । यसै समयमा अनेमसंघ जिल्ला तयारी समितिको सदस्य हुनुभयो । २०३८ सालमा जिल्ला आयोजक समितिको संयोजक भएर २०४५ सालमा अनेमसंघको दोस्रो अधिवेशनमा सचिव भएर काम गरेको देखिन्छ । २०४७ सालमा भएको सम्मेलनमा निर्वाचित सचिवले काम गर्न नसकेपछि कुन्ता शर्मा अध्यक्ष रहेको कमिटीमा फेरि पनि सचिव भएर काम गर्नुभयो । अनेमसंघ केन्द्रीय सदस्यमा रहेर बिरामी अवस्थामा पनि काम गर्नुभयो ।
पार्टी सदस्यता २०४७ सालमा पाउनुभयो र २०४७ सालमा बनेको नेकपा (एमाले) को पहिलो धरान नगर कमिटीमा रहेर काम गर्नुभयो ।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीमा २०४८ सालमा सदस्य मनोनित हुनुभयो । पार्टी सुनसरीको प्रथम र दोस्रो अधिवेशनमा सदस्य निर्वाचित हुनुभयो । त्यसपछि राष्ट्रिय परिषद सदस्य भई दुई कार्यकाल काम गर्नुभयो ।
२०५१ सालमा सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित हुनुभयो । २०५५ बैशाखमा प्रतिनिधि सभामाको उपसभामुख हुनुभयो नेपालको पहिलो महिला उपसभामुखका रुपमा पा“च महिना सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो ।
नेकपा (एमाले) को सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सल्लाहकारका रुपमा रहनुभयो ।
उहा“ले २०२२, ०२३ सालदेखि नै कविता लेख्न थाल्नुभएको हो । मेरो झ्यालका पर्दाहरु भन्ने कविता बनारसबाट छापिएको उहा“को पहिलो रचना हो । वहांको फोकल्याण्डको टापु कथा सङ्ग्रह प्रकाशित भएको छ । उहा“का अप्रकाशित रचनाहरु सहेत रहेकाछन् ।
रेडक्रस धरानको आजीवन सदस्य, सरस्वती बाल अनाथालय धरानको आजीवन सदस्य, मानवअधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य रहेर समाजसेवा गर्नुभयो ।
धरान ७ निवासी ध्रुव श्रेष्ठसंग उहाँको प्रेमलाई परिवारले स्वीकृति दिएपछि २०२८ सालमा उहा“हरुको विवाह भयो ।
लीला श्रेष्ठ सुब्बा जोग्राण्ड्रिम भन्ने (दम) रोगका कारण लामो समयदेखि थलिनु भएको थियो । दम, निमोनिया“का कारण छातीमा इन्फेक्सन थियो । वर्षौ एन्टिबायोटिक खाएर बस्नु परेकोे थियो । घरमा तलमाथि गर्न नसक्ने अवस्था आएपछि घरान छाताचोकको घर बेचेर धरान ७ मा सर्नु भएको थियो ।