नेभिगेशन
Dashain Banner
Dashain Banner
धरान विशेष

श्रीपिण्डेश्वरमा १५ दिने रथोत्सव हुने

श्रीपिण्डेश्वरमा १५ दिने रथोत्सव हुने 



कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको श्रीपिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबारदेखि १५ दिने 
रथोत्सव कार्यक्रम आयोजना हुने भएको छ ।

परापूर्वकालमा यहाँ रुद्राक्षको जंगल रहेको स्थानमा देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेका थिए । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ । भगवान श्रीपिण्डेश्वरलाई रुद्राक्षका देवता पनि भनिन्छ । 


रुद्राक्षारण्य महात्म्यमा रथोत्सवको उल्लेख भएका कारण यो वर्षदेखि रथोत्सव गर्न थालिएको हो । भगवान श्रीपिण्डेश्वरको विविध आराधना र उत्सवहरुका बारे रुद्राक्षारण्यमा वर्णन गरिएको छ । यी उत्सवहरु मध्ये भगवान श्रीविष्णुले १५ दिन पिण्डेश्वरको आराधना गरेर उत्सव मनाएको कारण पनि यो 
रथोत्सव गर्न लागिएको श्रीपिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकासकुमार बनेपालीले जानकारी दिए ।
रुद्राक्षारण्य महात्म्यको अध्याय १६ को ४९, ५० र ५१ श्लोकमा भगवान विष्णुले चैत्र शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म पिण्डेश्वर महादेवको पुजा अर्चना गरेर रथोत्सव गर्नु भएको वर्णन छ । पूर्णिमाका दिन शिवगंगा (शिवजट्टा)मा गएर रथोत्सव समापन गरि भगवान श्रीहरि वैकुण्ठ प्रस्थान गर्नु भएको उक्त महात्म्यमा उल्लेख रहेको छ । भगवान विष्णुले समेत यहाँ आएर १५ दिनसम्म उत्सव गर्नु भएको कारण यो कार्यक्रम गर्नु परेको बनेपालीले बताए ।

यस्तो उत्सव यस अघिनै हुनु पर्ने भएता पनि अहिले आएर आयोजना हुनु खुसीको कुरा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनु भयो । यस्ता कार्यहरुले तीर्थस्थलहरुको महत्वमा श्रीवृद्धि हुने र मठ मन्दिरहरुमा धार्मिक गतिविधी भइरहन सघाउ पु¥याउने पनि जगद्गुरुले विश्वास व्यक्त गर्नु भएको छ । यो रथोत्सवले आसन्न कोशी प्रदेश पर्यटन वर्षलाई पनि सघाउ पु¥याउने कोशी पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए । कोशी प्रदेशको पर्यटनको मेरुदण्ड धार्मिक पर्यटन नै भएका कारण यस्ता गतिविधीले पर्यटकहरुलाई आकर्षित गर्न सक्नेमा आफ्नो विश्वास रहेको पनि बरालले बताएका छन् ।  


धरानको श्रीपिण्डेश्वर मन्दिरमा आयोजना हुने रथोत्सवमा चैत्र १७ गतेदेखि प्रत्येक दिन रुद्री पाठ अनुष्ठान, भगवानको विशेष पुजा अर्चना एवं प्रत्येक साँझ भजन किर्तन हुने छ । त्यस्तै १७ गते दिन  विजयपुरका दन्तकाली, पञ्चकन्या, बुढासुब्बा हुदै पिण्डेश्वरसम्म रथयात्रा हुने छ । यसैगरि रथयात्राले चैत्र २२ गते दन्तकाली मन्दिर परिक्रमा गर्ने २३ गते बुढासुब्बा र पञ्चकन्या मन्दिर परिक्रमा गर्ने र चैत्र ३० गते धरान बजार परिक्रमा गरेर शिवजट्टामा समापन गरिने श्रीपिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष