नेभिगेशन
धरान विशेष

त्यहीँ श्रम संस्कृति पार्कको रमझम, त्यहीँ बिपी पार्कको कन्तबिजोग

धरान । धरान फुस्रेस्थित सर्दू जलाधारको किनारमा रहेको बिपी स्मृति पार्क सौन्दर्यीकरण गर्न कसैले चासो दिएका छैनन् । सोही स्थानमा रहेको श्रमसंस्कृति पार्क झकिझकाउ छ, बिपी पार्कमा भने झाडी बढेको छ । 

जननायक बिपी कोइरालाको पूर्णकदको शालिक नेपाली काङ्ग्रेसका तत्कालीन वरिष्ठ नेता हालका राष्ट्रपति रामचन्द्र पौडेलले वि.सं. २०७७ साल फागुन ७ गते अनावरण गरेका थिए । 

सन् १९४७ मा बीपी कोइरालासहित ६ जनालाई तत्कालीन राणा शाही सरकारले गिरफ्तार गरी धरानको फुस्रेमा एकरात राखी हालको बीपी स्मृति पार्क भएर हिँडाएर धनकुटा, भोजपुर हुँदै काठमाडौं चलान गरिएको इतिहास छ । 

सोही इतिहासलाई सम्मान र स्मरण गर्न बिपी स्मृति पार्क निर्माण गरिएको हो । परिवर्तनशील समाज नेपाल धरान, सुनसरीको अग्रसरतामा जननायक बीपी कोइरालाको पूर्णकदको शालिक स्थापना संरक्षक तथा सल्लाहकार समितिले संस्थागत तथा व्यक्तिगत रकम सङ्कलन गरी निर्माण गरेको हो । तत्कालीन नगरप्रमुख तिलक राईले पार्कका लागि धरान उपमहानगरबाट ५ लाख २८ हजार १ सय ६० रुपैयाँ विनियोजन गरेका थिए । 

1000228024-1786783810.jpg
स्थान एक,  पार्क अनेक

२०६५ सालमा हरित अभियान्ता तथा नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष आनन्द श्रेष्ठले बायोडाइभर्सिटी पार्क (जैविक विविधता उद्यान) को अवधारणा ल्याए । 

२०६५ सालमा मलामी घर (ध्यानाश्रम) स्थापना भयो । जसलाई स्थानीयले ओशो पार्कको नामकरण गरे । यो स्थानमा पार्क बन्नुअघि २०७५/७६ सालमा पूर्वसांसद जयकुमार राईले सांसद क्षेत्र विकास कोषबाट २० लाख रुपैयाँ विनियोजन गरे ।  
पूर्वसांसद कृष्णकुमार राईले बिपी स्मृति पार्कमाथि रहेको पुरानो घिर्लिङको अवशेष रहेको क्षेत्रसम्म जाने सिँढी निर्माण गरिदिए । जसका लागि १० लाख रुपैयाँ विनियोजन गरियो । यस्तै कोशी प्रदेश सरकारको ४० लाख रुपैयाँमा फुस्रे चोकबाट श्रम संस्कृति पार्क पुग्ने झण्डै एक किलोमिटर सडक कालोपत्रे गरियो ।

बायोडाइभर्सिटी पार्कको अवधारणाअनुसार सेड नेपाल नामक संस्थाले 'फ्लावर ब्रिज' निर्माण भयो । 'ज-जसको सरकार आयो उसैले सर्दू खोलालाई आफ्नो बनाउने प्रयास गरे,' अभियन्ता श्रेष्ठले भने, 'पहिले एमाले, त्यसपछि काङ्ग्रेस, माओवादी र श्रमंसस्कृति पार्टीले पार्कलाई आफ्नै जस्तो बनाए ।' 

उनका अनुसार रक गार्डेन एमाले र माओवादीले बनाए । उक्त स्थलमा हाँस, सर्प, बाघ, लगायतका संरचना ढुंगामा खोपियो । बिपी पार्क नेपाली काङ्ग्रेसले बनायो । र, श्रम संस्कृति पार्क हर्क साम्पाङले ।

श्रम संस्कृति पार्क निर्माण भएपछि एउटै स्थानमा आधा दर्जन बढी पार्कको नामकरण गरियो । स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण भयो । सचेत धराने समूहको सकृयतामा रक गार्डेन निर्माण गरेको भनियो । उक्त स्थानमै एसडीएस गार्डेन, आरा धरान पार्क बने । पूर्व गोर्खा सैनिकहरूको योगदानमा गोर्खा चौतारी निर्माण भयो । 

एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना बने ।  यी पार्कले धरान आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष