नेभिगेशन
धरान विशेष

धरान नगर सभाद्वारा कुल २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट अनुमोदन

धरान । कानुनले तोकेको समयसीमाभन्दा एक महिना १८ दिन ढिलो गरी धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट नगर सभामा प्रस्तुत गरेको छ । धरान उपमहानगरपालिकाको १९औँ नगर सभाले कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट अनुमोदन गरेको छ । 

स्थानीय तहले प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेटसम्बन्धी विवादका कारण धरानको बजेट समयमा प्रस्तुत हुन सकेको थिएन । असार १० गते पेस हुनुपर्ने बजेट साउन २८ गते नगर सभामा प्रस्तुत गरिएको हो ।

कार्यवाहक नगरप्रमुख बेघाले बजेट प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले बजेट निर्माणका क्रममा विभिन्न विषयगत समिति, राजनीतिक दल, विज्ञ, पत्रकार तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटिएको उल्लेख गरे ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

धरानको आगामी आर्थिक वर्षको बजेटले आर्थिक विकास, स्वच्छ खानेपानीसहितको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सशर्त अनुदानतर्फ ९९ करोड ५० लाख रुपैयाँसहित खाल्डाखुल्डीरहित नगर बनाउने कार्यक्रम, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माण, धरान सभागृह निर्माणलगायत पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
खाल्डाखुल्डीरहित नगर बनाउने कार्यक्रमका लागि ४ करोड रुपैयाँ र भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारको समपूरक अनुदानसमेतबाट धरान सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ६६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमा संघ तथा प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त ४७ करोड ६१ लाख ८२ हजार रुपैयाँसमेत समावेश छ । एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न नीति तथा कार्यक्रमका लागि सशर्त अनुदान, नगर अस्पताल सञ्चालन तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमलाई बजेटमा समेटिएको छ । प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासमा १० करोडभन्दा बढी

सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोततर्फ १० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा सुकुम्बासी व्यवस्थापन, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहायता कोष, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रण, विपन्न परिवारका छोरीलाई सहयोग, लैङ्गिक समानता तथा समावेशीकरण र विपन्न परिवारका सदस्यको दाहसंस्कारमा साझेदारीलगायत कार्यक्रम समेटिएका छन् ।

सुकुम्बासी व्यवस्थापनका लागि ५० लाख, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोषका लागि २० लाख, सडक मानव व्यवस्थापनका लागि २० लाख र विविध खेलकुद कार्यक्रमका लागि २ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपन्न परिवारका छोरी सहायता कार्यक्रमका लागि १२ लाख, लैङ्गिक समानता तथा समावेशीकरणका लागि १ करोड ५ लाख तथा विपन्न परिवारका सदस्यको दाहसंस्कारमा साझेदारीका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

आर्थिक विकासमा ६ करोड ५० लाख

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको आर्थिक क्षेत्रका लागि आन्तरिक स्रोततर्फ ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि, पशु, पर्यटन, उद्योग, उद्यम तथा रोजगारीसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

सशर्त अनुदानतर्फ आर्थिक क्षेत्रका लागि १ करोड २८ लाख ७० हजार रुपैयाँ र संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खानेपानीमा ३ करोड ११ लाख

धरानको दीर्घकालीन खानेपानी समस्यालाई सम्बोधन गर्दै खानेपानीतर्फ ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको खानेपानी आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन चतरास्थित कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारबाट विनियोजन भएको बजेटको साझेदारीका लागि आन्तरिक स्रोतबाट उक्त रकम छुट्याइएको बजेट वक्तव्यमा उल्लेख छ ।

वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ४५ लाख ७५ हजार रुपैयाँ, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख र राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगर मिसन कार्यक्रमका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

२० वडालाई २८ करोड ७० लाख

धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत खर्चतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । विगत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरी वडागत बजेट २६ करोड कायम गरिएको र गत आर्थिक वर्षको भुक्तानी दिन बाँकी दायित्वसमेत समेटेर कुल विनियोजन २८ करोड ७० लाख ९४ हजार रुपैयाँ पुर्‍याइएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर कार्यपालिकातर्फ विनियोजन हुने बजेटमध्ये नगर सभाबाट विनियोजन हुने निश्चित बजेट १ अर्ब ५२ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको छ । सशर्त अनुदानबाट ९२ करोड ९७ लाख ४२ हजार, समपूरक अनुदानबाट १ करोड ५ लाख र विशेष अनुदानबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यी स्रोतसमेत जोड्दा नगर कार्यपालिकातर्फ कुल २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट कायम गरिएको छ ।

अघिल्लो वर्षको खर्च प्रगति ६३.५३ प्रतिशत

बजेट वक्तव्यमा धरान उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०८२/८३ को खर्च प्रगतिसमेत प्रस्तुत गरिएको छ । संशोधनसहित २ अर्ब ३४ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्चको अनुमान गरिएकोमा असार मसान्तसम्म १ अर्ब ४२ करोड ४५ लाख ९६ हजार २३४ रुपैयाँ खर्च भएको जनाइएको छ ।

यो कुल अनुमानको ६३.५३ प्रतिशत हो । त्यसमध्ये चालुतर्फ ९७ करोड २ लाख ६८ हजार २१७ रुपैयाँ, पुँजीगततर्फ ३९ करोड ८३ लाख २८ हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५ करोड ५० लाख रुपैयाँ खर्च भएको बजेट वक्तव्यमा उल्लेख छ ।

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक समृद्धि र नगरवासीको समुन्नति तथा सुखका लागि दिगो र उच्च प्रतिफल दिने आयोजना पहिचान गरी नागरिक तथा सरोकारवालाको सहभागितामा प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र पूर्वाधार सुविधासम्पन्न बहुसांस्कृतिक आधुनिक सहरको पहिचान कायम गर्ने बजेटको मूल उद्देश्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष