नेभिगेशन
धरान विशेष

धरानमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारसँग कार्यवाहक नगरप्रमुखको माग

धरान । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरपालिकामा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारसँग माग गरेका छन् ।

बेघाले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यसचिवलाई छुट्टाछुट्टै पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका हुन् ।

उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तिर्थराज राई आदिवासी जनजाति आयोगमा सरुवा भएपछि धरानमा उक्त पद रिक्त रहेको पत्रमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा उपमहानगरपालिकाको दैनिक प्रशासनिक तथा आर्थिक काम प्रभावित भएको बेघाले जनाएका छन् । योजना कार्यान्वयनसम्बन्धी कामसमेत ठप्प भएको पत्रमा उल्लेख छ ।

सम्पन्न भइसकेका योजनाको भुक्तानी, नयाँ योजनाको सम्झौता तथा अघिल्लो आर्थिक वर्षका विभिन्न योजनाको बाँकी भुक्तानी गर्नसमेत कठिनाइ भइरहेको उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी नियमित प्रशासनिक तथा आर्थिक काममा अन्योल सिर्जना हुँदा सेवाग्राही नागरिकमा असहजता र निराशा उत्पन्न हुने अवस्था देखिएको पत्रमा उल्लेख छ ।

धरान उपमहानगरपालिकाको नियमित प्रशासनिक, आर्थिक तथा विकास निर्माणसम्बन्धी कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाइदिन कार्यवाहक नगरप्रमुख बेघाले सरकारसँग आग्रह गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष