धरान । धरान उपमहानगरपालिकाको पर्यटन शाखाले आगामी आर्थिक वर्षका लागि ८६ लाख ५० हजार रुपैयाँका २९ वटा कार्यक्रम प्रस्ताव गरेको छ । प्रस्तावित बजेटको ठूलो हिस्सा पर्यटकीय गन्तव्यको एकीकृत विकासभन्दा धार्मिक संरचना, जातीय–सांस्कृतिक कार्यक्रम, महोत्सव र विभिन्न संस्थालाई सहयोगमा केन्द्रित देखिएको छ ।
पर्यटन शाखाको प्रस्तावमा ३४ लाख रुपैयाँ धार्मिक तथा सांस्कृतिक संरचनाको निर्माण र स्तरउन्नतिका लागि छुट्याइएको छ । यो कुल पर्यटन बजेटको ३९.३ प्रतिशत हो ।
नगर पर्यटन सूचना केन्द्र सञ्चालनका लागि प्रस्तावित ४ लाख रुपैयाँसमेत जोड्दा संरचना तथा प्रत्यक्ष पर्यटन सेवासँग सम्बन्धित शीर्षकमा ३८ लाख रुपैयाँ पुग्छ । यो कुल बजेटको ४३.९ प्रतिशत हो ।
बाँकी ४८ लाख ५० हजार रुपैयाँ विभिन्न महोत्सव, सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, संस्था तथा समुदायकेन्द्रित कार्यक्रममा प्रस्ताव गरिएको छ । यस्तो रकम कुल बजेटको ५६.१ प्रतिशत हुन्छ ।
मन्दिरको स्तरउन्नतिमा ३० लाख
पर्यटन शाखाले प्रस्ताव गरेको भौतिक संरचनासम्बन्धी बजेटको ठूलो हिस्सा धार्मिक स्थलमा केन्द्रित छ ।
सिद्धेश्वर महादेव मन्दिर धरान–१३ का लागि ७ लाख, शिवधार मन्दिरमा टाली लगाउने कार्यका लागि ३ लाख, नवदुर्गा भगवती मन्दिर धरान–१० को स्तरउन्नतिका लागि ३ लाख, सिंहवाहिनी भगवती मन्दिर धरान–१० को स्तरउन्नतिका लागि ३ लाख, किरात यायोक्खा खिम मन्दिर धरान–१० को स्तरउन्नतिका लागि ७ लाख, शिवजट्टा मन्दिरको स्तरउन्नतिका लागि ४ लाख र राधाकृष्ण प्रणामी आध्यात्मिक सनातन मन्दिरका लागि ३ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । यी सात शीर्षकमा मात्रै ३० लाख रुपैयाँ हुन्छ ।
यसमा हारती अजिमा गेट तथा धम्म हल निर्माणका लागि प्रस्तावित ४ लाख रुपैयाँ जोड्दा धार्मिक तथा सांस्कृतिक संरचना निर्माण र स्तरउन्नतिमा ३४ लाख रुपैयाँ पुग्छ ।
अर्थात् पर्यटन शाखाको करिब ४० प्रतिशत बजेट धार्मिक तथा सांस्कृतिक संरचनामा खर्च गर्ने प्रस्ताव गरिएको छ ।
गन्तव्य विकासको छुट्टै योजना छैन
धरानमा धार्मिक तथा सांस्कृतिक सम्पदा पर्यटनका महत्वपूर्ण आधार हुन् । तर कुनै एउटा मन्दिरको स्तरउन्नति गर्नु र त्यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु फरक विषय हो ।
प्रस्तावित कार्यक्रममा धार्मिक स्थलको संरचना सुधारका लागि रकम राखिए पनि ती स्थललाई जोडेर पर्यटन सर्किट, पदमार्ग, संकेतचिह्न, पर्यटक गाइड, डिजिटल नक्सा, व्याख्या केन्द्र, पार्किङ तथा पर्यटक सेवा विकास गर्ने एकीकृत योजना देखिँदैन ।
धरानको विजयपुर क्षेत्रलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक पर्यटनको एकीकृत गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तावमा छैन । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरलगायतका गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोडेर पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रमसमेत देखिँदैन ।
एउटै नामको संस्थासँग सम्बन्धित दुई शीर्षक
प्रस्तावित बजेटमा नेवा देय दबुसँग सम्बन्धित दुई शीर्षक छन् ।
राष्ट्रिय प्रतियोगिता लाखे नाच प्रवर्द्धनका लागि नेवा देय दबु धरानलाई ४ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । अर्को शीर्षकमा नेवा देय दबु धरान–१० का लागि थप २ लाख रुपैयाँ छ ।
दुवै एउटै संस्थाको संरचना वा स्थानीय इकाइ भएमा त्यससँग सम्बन्धित बजेट ६ लाख ५० हजार रुपैयाँ हुन्छ । यो कुल पर्यटन बजेटको ७.५ प्रतिशत हो ।
नेवा समुदायसँग जोडिएका कार्यक्रमलाई उल्लेखनीय बजेट
प्रस्तावित सूचीमा नेवा समुदायसँग प्रत्यक्ष वा सांस्कृतिक रूपमा जोडिएका कार्यक्रमको संख्या उल्लेख्य छ ।
लाखे नाच प्रवर्द्धनमा ४ लाख ५० हजार, झिँगु समाजको नेपाल संवत् सांस्कृतिक कार्यक्रममा १ लाख ५० हजार, गाईजात्रा सांस्कृतिक कार्यक्रममा १ लाख ५० हजार, पासाबल यमरी महोत्सवमा ३ लाख, नेवा सांस्कृतिक उद्यान मञ्चको कार्यक्रममा २ लाख, नेवा देय दबु धरान–१० मा २ लाख, नेवार यमरी कार्यक्रममा २ लाख र टक्सार भोजपुर नेवा खलको सांस्कृतिक कार्यक्रममा १ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । यी शीर्षकमा १७ लाख ५० हजार रुपैयाँ हुन्छ । यो कुल पर्यटन बजेटको करिब २०.२ प्रतिशत हो ।
यस्तै नेवा खल: ले आयोजना गरेको कुटुम्ब ब्याण्ड सांस्कृतिक कार्यक्रमका नाममा ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसमा केही कार्यक्रम सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण हुन सक्छन् । तर पर्यटन बजेटबाट यस्ता कार्यक्रम सञ्चालन गर्दा तिनको पर्यटनसँगको प्रत्यक्ष सम्बन्ध र परिणाम मापनको आधार पनि स्पष्ट हुनुपर्ने देखिन्छ ।
लाखे नाच, यमरी, गाइजात्रा वा नेपाल संवत्लाई नियमित पर्यटकीय अनुभवका रूपमा विकास गर्ने, पर्यटकलाई सहभागी गराउने, स्थानीय खाना तथा उत्पादनसँग जोड्ने र यसको प्रचार गर्ने कार्यक्रम भएमा त्यसले पर्यटनमा प्रत्यक्ष योगदान गर्न सक्छ । तर कार्यक्रम एक दिन आयोजना गरेर बजेट सकिने हो भने त्यसको दीर्घकालीन पर्यटन प्रभाव सीमित हुन सक्छ ।
किरात यायोक्खा खिम मन्दिरको स्तरउन्नतिका लागि ७ लाख रुपैयाँ र किरात याक्थुङ चलचित्र महोत्सवका लागि २ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । खिम मन्दिरको ७ लाख रुपैयाँ मात्रै कुल पर्यटन बजेटको ८.१ प्रतिशत हुन्छ ।
धरानको किरात सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्न सकिने सम्भावना ठूलो भए पनि प्रस्तावित कार्यक्रममा सांस्कृतिक संग्रहालय, नियमित सांस्कृतिक प्रदर्शन, किरात खानाको प्रवर्द्धन, सांस्कृतिक गाइड वा पर्यटकका लागि किरात सांस्कृतिक अनुभव प्याकेज बनाउने कार्यक्रम देखिँदैन ।
एउटा महोत्सवमा १० लाख
पर्यटन शाखाको प्रस्तावमा सबैभन्दा ठूलो एकल बजेट अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव धरान–१३ का लागि १० लाख रुपैयाँ विनियोजन भएको देखिन्छ । यो कुल पर्यटन बजेटको ११.६ प्रतिशत हुन्छ ।
धरान महोत्सवका लागि १ लाख, धरान संगीत प्रतिष्ठानका लागि ३ लाख, पिण्डेश्वर बोलबम मेलाका लागि २ लाख, पासाबल यमरी महोत्सवका लागि ३ लाख, किरात याक्थुङ चलचित्र महोत्सवका लागि २ लाख, क्रिसमस उत्सवका लागि १ लाख र कुटुम्ब ब्याण्ड सांस्कृतिक कार्यक्रमका लागि ४ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
यसरी हेर्दा पर्यटन बजेटको ठूलो हिस्सा विभिन्न कार्यक्रम आयोजना गर्नमा जाने देखिन्छ ।
महोत्सवले सहरको प्रचार र आर्थिक गतिविधि बढाउन सक्छ । तर त्यसको पर्यटन प्रतिफल मापन गर्न कति बाह्य पर्यटक आए, कति रात बसे, होटल तथा रेस्टुरेन्टको कारोबार कति बढ्यो र स्थानीय उत्पादनको बिक्री कति भयो भन्ने तथ्यांक राख्नुपर्ने हुन्छ ।
पर्यटन सूचना केन्द्रलाई ४ लाख
नगर पर्यटन सूचना केन्द्र सञ्चालनका लागि ४ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
पर्यटकलाई गन्तव्यसम्बन्धी सूचना दिने केन्द्र आवश्यक भए पनि अहिले पर्यटन सूचना डिजिटल माध्यमबाट उपलब्ध गराउनु बढी प्रभावकारी हुने बताइन्छ ।
प्रस्तावित बजेटमा धरानका सबै पर्यटकीय स्थल समेटिएको डिजिटल नक्सा, बहुभाषिक सूचना प्रणाली, क्यूआर कोड, अनलाइन पर्यटन पोर्टल, गन्तव्यको डिजिटल प्रचार वा पर्यटक तथ्यांक संकलन प्रणालीका लागि छुट्टै कार्यक्रम छैनन् ।
यसले पर्यटन सूचना केन्द्रलाई भौतिक केन्द्रका रूपमा हेरेको देखाउँछ । जबकि पर्यटक धरान आउनुअघि नै मोबाइलबाट गन्तव्यबारे जानकारी खोज्ने गर्छन् ।
पर्यटन शाखाको बजेटमा संस्कृति धेरै, पर्यटन उत्पादन कम
प्रस्तावित २९ कार्यक्रमको प्रकृति हेर्दा धरानको सांस्कृतिक विविधता बजेटमा राम्ररी समेटिएको छ । नेवा, किरात, धार्मिक संस्था, सांस्कृतिक समूह, साहित्यिक तथा संगीत क्षेत्रका कार्यक्रमले स्थान पाएका छन् ।
तर संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन एउटै कुरा होइनन् ।
संस्कृति पर्यटनको आधार बन्न सक्छ । त्यसलाई पर्यटन उत्पादनमा बदल्न पर्यटकका लागि नियमित गतिविधि, पहुँच, सूचना, व्याख्या, गाइड, स्थानीय खाना, स्मृति सामग्री, आवास र बजारसँग जोड्नुपर्ने पर्यटन क्षेत्रमा काम गरेकाहरूको अनुभव छ ।
स्थानीय पर्यटनकर्मी भन्छन्, 'प्रस्तावित कार्यक्रमले पहिलो चरण अर्थात् सांस्कृतिक गतिविधि र संरचना निर्माणलाई प्राथमिकता दिएको देखिन्छ । दोस्रो चरण अर्थात् त्यसलाई पर्यटकीय उत्पादनमा बदल्ने योजना भने कमजोर छ ।'
धरानको पर्यटन सम्भावना बजेटमा छुट्यो
धरानको पर्यटन सम्भावना धार्मिक र सांस्कृतिक कार्यक्रमभन्दा धेरै फराकिलो छ ।
विजयपुरको ऐतिहासिक तथा धार्मिक सम्पदा, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, शिवजट्टा, प्राकृतिक क्षेत्र, पदयात्रा, साहसिक पर्यटन, स्थानीय खाना, जातीय संस्कृति, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई पर्यटनसँग जोड्न सकिन्छ ।
तर प्रस्तावित बजेटमा धरान पर्यटन सर्किट, पदमार्ग विस्तार, पर्यटकीय संकेतचिह्न, स्थानीय गाइड उत्पादन, होमस्टे प्रवर्द्धन, स्थानीय खानाको ब्रान्डिङ, पर्यटकको बसाइ लम्ब्याउने प्याकेज वा निजी क्षेत्रसँगको सहकार्यका लागि छुट्टै बजेट छैन ।
यसले धरानको पर्यटन बजेट अझै ‘कार्यक्रम आयोजना’ र ‘संरचना सहयोग’मा केन्द्रित रहेको देखाउँछ ।
८६ लाख ५० हजारलाई एउटै गन्तव्यमा लगानी गरेको भए ?
२९ वटा कार्यक्रममा ८६ लाख ५० हजार रुपैयाँ छरिँदा एउटा कार्यक्रमको औसत बजेट करिब २ लाख ९८ हजार रुपैयाँ मात्र हुन्छ ।
'बरु प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेर त्यसलाई नमुना गन्तव्य बनाउने गरी बजेट केन्द्रित गरेको भए परिणाम देखिने सम्भावना बढी हुन्थ्यो ।' पर्यटनकर्मी भन्छन्, 'उदाहरणका लागि विजयपुरलाई केन्द्र बनाएर धार्मिक तथा ऐतिहासिक पर्यटन सर्किट निर्माण गर्न सकिन्छ । त्यसका लागि पदमार्ग, संकेतचिह्न, सौन्दर्यीकरण, पर्यटक सूचना, डिजिटल प्रचार, स्थानीय गाइड र स्थानीय व्यवसायलाई जोड्ने कार्यक्रम एउटै योजनामा राख्न सकिन्छ ।
धरानको बहुसांस्कृतिक पहिचानलाई नै पर्यटन उत्पादनमा बदल्ने गरी ‘धरान सांस्कृतिक पर्यटन सर्किट’ विकास गर्न सकिने उनको भनाइ छ ।
संस्थागत सहयोगमा मापदण्ड आवश्यक
विभिन्न जातीय तथा सांस्कृतिक संस्थालाई बजेट दिनु आफैंमा गलत होइन । धरानको बहुसांस्कृतिक पहिचान संरक्षण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व हो ।
तर एउटै संस्थालाई विभिन्न शीर्षकमा रकम दिने हो भने कार्यक्रमको दोहोरोपन, लाभग्राहीको संख्या, पर्यटक आकर्षणको सम्भावना र उपलब्धि मापन स्पष्ट हुनुपर्छ ।
विशेषगरी पर्यटन शाखाको बजेटबाट रकम दिइँदा ‘संस्था वा समुदायलाई सहयोग’ र ‘पर्यटन प्रवर्द्धनमा लगानी’बीच स्पष्ट सीमा बनाउनुपर्ने देखिन्छ ।
पर्यटन क्षेत्रमा काम गरिरहेका एक पर्यटन व्यवसायी भन्छन्, 'हरेक वर्ष उही संस्था, उही समुदाय र उही प्रकृतिका कार्यक्रमले बजेट पाउने तर धरानका पर्यटकीय गन्तव्य भने पूर्वाधारविहीन रहने अवस्था आउन सक्छ ।'
'प्रश्न बजेटको आकारमा होइन, परिणाममा'
धरानको पर्यटन शाखाले प्रस्ताव गरेको ८६ लाख ५० हजार रुपैयाँ ठूलो बजेट होइन । तर उपलब्ध बजेटलाई कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण हो ।
त्यसैले आगामी बजेटको मूल्यांकन गर्दा कुन संस्थालाई कति रकम दिइयो ? भन्ने प्रश्नसँगै त्यसबाट कति पर्यटक आए, कति समय बसे, स्थानीय व्यवसायले कति आम्दानी गरे र नयाँ पर्यटन उत्पादन के बन्यो ? भन्ने प्रश्न पनि सोधिनुपर्ने हुन्छ ।
धरानसँग पर्यटनको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक विविधता त्यसको बलियो आधार हो । तर त्यो सम्भावनालाई आर्थिक गतिविधिमा बदल्न महोत्सव र अनुदानभन्दा गन्तव्य, पूर्वाधार, सूचना, प्याकेज र बजारमा केन्द्रित पर्यटन बजेट आवश्यक देखिन्छ ।
'अहिलेको प्रस्तावित बजेटले धरानको संस्कृति समेटेको छ, तर धरानको समग्र पर्यटन सम्भावनालाई एउटै योजनामा बाँधेको देखिँदैन,' कोशी प्रदेशका अगुवा पर्यटन व्यवसायी वासुदेव बरालले भन्छन्, 'प्रस्तावित बजेटले धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, महोत्सव र समुदायका गतिविधिलाई समेटेको छ । तर पर्यटकको संख्या बढाउने, बसाइ लम्ब्याउने र पर्यटनबाट स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष आम्दानी बढाउने कार्यक्रम तुलनात्मक रूपमा कमजोर छन् ।'