नेभिगेशन
समाचार

फागुन २१ को निर्वाचनका लागि सुनसरी–१ मा तयारी तीव्र, धरानका मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था

धरान । फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै सुनसरी निर्वाचन क्षेत्र नं. १ मा सुरक्षित र व्यवस्थित मतदान स्थल निर्माण कार्य तीव्र पारिएको छ। मतदाताले ढुक्क, सुरक्षित र सहज वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटेका छन्।
विशेषगरी धरान उपमहानगरपालिकाभित्र रहेका विभिन्न मतदान केन्द्रहरूमा आवश्यक भौतिक संरचना सुदृढीकरण, सुरक्षात्मक घेराबार, प्रवेश–निर्गमन व्यवस्थापन तथा आधारभूत सुविधा विस्तारको काम भइरहेको छ।
धरान–१५ स्थित ज्ञान चचु माध्यमिक विद्यालय, धरान–८ मा रहेको ल्याब्रेटरी माध्यमिक विद्यालय र शिक्षा सदन माध्यमिक विद्यालयमा मतदान स्थललाई अझ सुरक्षित र प्रभावकारी बनाउन विशेष तयारी गरिएको छ।
यी केन्द्रहरूमा सुरक्षा निकायसँगको समन्वयमा सीसी क्यामेरा जडान, पर्याप्त प्रकाश व्यवस्था, अपांगमैत्री पहुँच मार्ग निर्माण, व्यवस्थित प्रतीक्षा कक्ष तथा मतदाताको भीड नियन्त्रणका उपायहरू अपनाइएको छ।
धरानमै सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र शिक्षा सदन माध्यमिक विद्यालयमा मतदाताको चापलाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन सुदृढीकरण गरिएको जनाइएको छ।
सुनसरी क्षेत्र नं. १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन्। तीमध्ये धरान उपमहानगरपालिकामा मात्र १ लाख ३ हजार २४ मतदाता रहेका छन्। धरानमा जम्मा २५ वटा मतदान स्थल कायम गरिएको छ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय सुदृढ गरिएको छ।
निर्वाचन आयोगले सुरक्षित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। साथै, मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार