नेभिगेशन
समाचार

सिँदुरपुच्छरका वासिन्दालाई बाटोको सास्ती : बजार टाढा, वराहक्षेत्र झर्न बाधा

वराहक्षेत्र । सुगम जिल्लाका रुपमा परिचित सुनसरी जिल्लाको वराहक्षेत्रका पहाडी क्षेत्रमा अझै बाटो पुग्न सकेको छैन । मोटर बाटोको असुविधाले स्थानीय वर्षौंदेखि कष्टकर यात्रा गर्न बाध्य छन् । 

स्थानीय सरकार, प्रदेश सरकारलगायतका प्रतिनिधिको आँखा नपर्दा अप्ठ्यारा गोरेटा बाटामा स्थानीयले जीवन निर्वाह गर्नुपरिरहेको छ । २ किलोमिटर मोटर बाटोको ट्रयाक नखुल्दा स्थानीयले १० किलोमिटर टाढाको बजार धाउनु परिरहेको छ ।

वराहक्षेत्र-१ स्थित सिँदुरपुच्छरका वासिन्दालाई आवातजावत गर्ने बाटोको असुविधाले झण्डै १० किलोमिटर टाढा चतरा बजार झर्नुपर्ने बाध्यता रहेको स्थानीय इमानसिंह राई (अन्तरे) ले बताए ।

'नून, तेल, चिया, मसला र रासन बोक्नै गाह्रो छ, रात-साँझ गाह्रो-सारो पर्दा त निकै अप्ठ्यारो छ', स्थानीय अन्तरेले भने, 'खोइ हामीलाई त नगरपालिकाले पनि हेरेन, सरकारले पनि देखेन ।'

झण्डै २ किलोमिटर नजिकमा रहेको वराहक्षेत्र बजार झर्न बाटोको असुविधा छ । मान्छे हिंड्ने सामान्य ट्रयाक भए पनि सवारी साधन गुड्ने बाटो स्तरोन्नति भएको छैन । वर्षौंदेखि सिँदुरपुच्छरका स्थानीय वराहक्षेत्र-१ कै जुगपाख्री हुँदै बयरवन र चतरा बजार जान बाध्य छन् । सिँदुरपुच्छरबाट जुगपाख्री उकालो लाग्न झण्डै ३ किलोमिटर र जुगपाख्रीबाट चतरा बजार ७ किलोमिटर ओरालो झर्नुपर्छ । नियमित सवारी साधन नचल्दा अटो रिक्साबाट जानुपर्ने बाध्यता छ । 

1000286622-1792909380.jpg
सिँदुरपुच्छरबाट नजिकमा रहेको वराहक्षेत्र बजार झर्न बाटोकै  समस्या भएको तर कसैले चासो नदिएको स्थानीय शिवराज राई (सुबाले) बताउँछन् । वराहक्षेत्रको बाटो खोल्ने विषयमा चिनेजानेका सबैसँग हारगुहार गर्दै आएको सुबालेको भनाइ छ । 

सिँदुरपुच्छर- वराहक्षेत्र बजार जोड्ने सडक निर्माण हुन सके विष्णुपादुका-सूर्यकुण्ड- जुगपाख्री- सिँदुरपुच्छर- वराहक्षेत्र र चतरा- जुगपाख्री- सिँदुरपुच्छर- वराहक्षेत्र वैकल्पिक बाटोले पूर्णता पाउने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् । 

'सिँदुरपुच्छरका जनताले वर्षौंदेखि बाटोको असुविधा भोग्दै आएका छन् । आपतविपत परिहाले झनै ठूलो समस्या छ,' श्रेष्ठले भने, '२ किलोमिटर मोटरबाटोको ट्रयाक खोल्न सके स्थानीयले सुविधा पाउने थिए, टाढाको बजार जानै पर्ने बाध्यता हुने थिएन ।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार