नेभिगेशन
समाचार

सप्तकोशी मोटरबोट दुर्घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो अध्ययन समिति

विराटनगर ।  सप्तकोशी नदीमा भएको यात्रुवाहक मोटर बोट दुर्घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ ।

प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

मंगलबार प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता शेर्पाले समितिलाई दुर्घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको बताए ।

आइतबार दूधकोशी र अरुण नदीको सङ्गमदेखि केही तल घागीमा मोटर बोटको इन्जिन बन्द भएर बोट दुर्घटना भएको थियो ।  नदीमा भएको अकल्पनीय बोट दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूको मृत आत्माको चिरशान्तिको कामना गर्दै बैठकले श्रद्धाञ्जली व्यक्त गरेको प्रवक्ता शेर्पाले बताए । 

उनका अनुसार बैठकले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी तथा प्रभावकारी उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार