नेभिगेशन
समाचार

सुनसरीमा शान्तिपूर्ण मतदान, दिउँसो २ बजेसम्म ४४ प्रतिशत मत खस्यो

धरान — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु भई व्यवस्थित र शान्त वातावरणमा अगाडि बढिरहेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लाभरका सबै मतदानस्थलमा कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। उहाँका अनुसार दिउँसो २ बजेसम्म जिल्लामा करिब ४४ प्रतिशत मत खसेको छ।
जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। तीमध्ये कैदीबन्दीका लागि सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागार मा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका १४९ मतदातामध्ये ७७ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो।
सुनसरी जिल्लामा कुल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन्। चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र तोकिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको छ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरी व्यापक रूपमा परिचालन गरिएको प्रशासनले जनाएको छ। जिल्लाभरका मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार