नेभिगेशन
समाचार

हर्क साम्पाङ श्रमदानमा : धरानको खानेपानी पाइपलाइन जोगाउन जंगलमै सक्रिय

धरान । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हर्क साम्पाङ  पुनः श्रमदान अभियानमा सक्रिय देखिएका छन्। धरानवासीलाई खानेपानीको समस्या नहोस् भन्ने उद्देश्यले उहाँ कोका खोलाबाट ल्याइएको खानेपानी प्रणाली व्यवस्थित गर्न श्रमदानमा उत्रिनुभएको हो।


सुख्खा याममा खडेरी तथा डढेलो लाग्ने सम्भावनाले पाइपलाइनमा क्षति पुग्न सक्ने भएकाले पाइपलाई सुरक्षित राख्न श्रमदानमार्फत व्यवस्थापन गर्ने काममा उहाँ स्वयं मैदानमा उत्रिनुभएको हो। धरानबासीलाई पानीको हाहाकार हुन नदिन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता उहाँले दोहोर्याउनुभएको छ।


निर्वाचन जितेपछि पनि उहाँले जनतासँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ। निर्वाचित भएपछि उहाँ धरान–२० का विभिन्न टोलमा पुगेर श्रमदाताहरूलाई धन्यवाद दिनुका साथै जनताबाट सुझाव पेटिका संकलन गर्नुभएको थियो। त्यसपछि दोस्रो दिन वडा क्षेत्रअन्तर्गत नडा र काला बञ्जार क्षेत्रमा पुगेर मतदातालाई शुभकामना दिँदै सुझाव र सल्लाह लिनुभएको थियो।


उहाँले माननीय पद ठूलो पद नभई जिम्मेवारी भएको बताउँदै पदमा बसेर काम नगर्ने भन्दा काम गरेर देखाउने माननीय बन्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो। “पदले मानिस ठूलो हुँदैन, जनताको सेवा र कामले ठूलो बनाउँछ,” भन्ने सन्देश दिँदै उहाँ फेरि श्रमदानमै सहभागी हुनुभएको हो।
माननीय भइसकेपछि पनि साधारण जीवनशैली अपनाउँदै श्रमदानमा सक्रिय हुनु उहाँको शैलीलाई धेरैले उदाहरणीय कामको रूपमा लिएका छन्। उहाँले श्रम संस्कृति पार्टीले जनताको पक्षमा निरन्तर काम गर्ने र हरेक शनिबार श्रमदान अभियान जारी रहने बताउनुभएको छ।


यसैबीच प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले देशभरबाट चार सिट मात्र प्राप्त गरेको छ। समानुपातिक प्रणाली अन्तर्गत पद बाँडफाँटको विषयमा केही विवाद देखिएपछि पार्टीभित्र केही असमझदारी सार्वजनिक भएको छ। समानुपातिक प्रणालीमा भूगोल, जातीय समुदाय, महिला–पुरुष लगायत विविध प्रतिनिधित्व मिलाउनुपर्ने भएकाले सीमित सिटका कारण पार्टीभित्र प्रतिस्पर्धा र दबाब बढेको बताइएको छ।
माननीय राईले काठमाडौँ जानु अघि धरानको मुख्य समस्या खानेपानी भएकाले त्यसलाई प्राथमिकतामा राखेर श्रमदानमा सहभागी भएको बताउनुभएको छ। आफू केही समयपछि काठमाडौँमा संसदीय काममा व्यस्त हुने भए पनि श्रम संस्कृति पार्टीका नगर अध्यक्ष तथा सदस्यहरूले श्रमदान अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ।


निर्वाचित सांसद भइसकेपछि पनि साधारण नागरिकझैँ श्रमदानमा सहभागी हुँदै जंगलमै पुगेर खानेपानी व्यवस्थापनमा जुट्नु माननीय हर्क साम्पाङ राईको कार्यशैलीलाई धेरैले उदाहरणीय मानिरहेका छन्। उहाँको यो गतिविधिले अन्य जनप्रतिनिधिलाई समेत जनताको सेवामा सक्रिय हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार