नेभिगेशन
समाचार

अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभाव: पेट्रोल, डिजेल र ग्यासको लागत बढ्ने

धरान । नेपाल आयल निगम लिमिटेड ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लागत पनि उल्लेख्य रूपमा बढेको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा तीव्र वृद्धि भएको छ।
निगमका अनुसार पेट्रोलियम पदार्थ उत्पादन नगर्ने मुलुकहरूमा यसको प्रत्यक्ष असर देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आयात तथा आपूर्तिमा चुनौती थपिएको बताइएको छ। यसअघि पनि रुस–युक्रेन युद्ध का कारण आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएको र मूल्यमा असामान्य वृद्धि भएको थियो, जसले नेपाली जनजीवनमा समेत असर पारेको निगमले स्मरण गराएको छ।
निगमले विगतमा मूल्य समायोजन गर्न नसक्दा भारतको Indian Oil Corporation लाई करिब २४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। उक्त रकममध्ये ७ अर्ब नेपाल सरकारको अर्थ मन्त्रालयबाट ऋण, राष्ट्रिय वाणिज्य बैंकमा रहेको अचल सम्पत्ति धितो राखेर ३ अर्ब ऋण तथा मूल्य स्थिरीकरण कोष प्रयोग गर्दा पनि पूर्ण भुक्तानी गर्न नसकिएको कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको लागत उल्लेख्य रूपमा बढेको छ। हालको बिक्री मूल्य र नयाँ लागतबीच ठूलो अन्तर देखिएको छ। प्राप्त विवरणअनुसार:
• पेट्रोलको हालको बिक्री मूल्य प्रतिलिटर १५७ रुपैयाँ रहेकोमा लागत मूल्य करिब १८८ रुपैयाँ पुगेको छ, अर्थात् प्रतिलिटर करिब ३१ रुपैयाँ घाटा।
• डिजेलको हालको मूल्य प्रतिलिटर १४२ रुपैयाँ हुँदा लागत मूल्य करिब १९६ रुपैयाँ पुगेको छ, प्रतिलिटर करिब ५४ रुपैयाँ घाटा।
• एलपी ग्यासको हालको बिक्री मूल्य प्रति सिलिन्डर १,९१० रुपैयाँ भए पनि लागत करिब २,१२६ रुपैयाँ पुगेको छ, जसले प्रति सिलिन्डर करिब २१६ रुपैयाँ घाटा देखाएको छ।
निगमले हालको कठिन अवस्थामा पनि नेपालमा खाना पकाउने ग्यास लगायत पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निरन्तर सहयोग गरिरहेको भन्दै Indian Oil Corporation प्रति धन्यवाद व्यक्त गरेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार लागत बढेकाले भविष्यमा मूल्य समायोजनको दबाब बढ्न सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार