नेभिगेशन
समाचार

दार्चुलामा पुल निर्माणका लागि धरानबाट अनुगमन टोली प्रस्थान, सहयोग जुट्ने क्रम तीव्र

धरान : सुदूरपश्चिमको दार्चुलामा तुइन विस्थापित गर्दै झोलुंगे पुल निर्माण गर्ने अभियानअन्तर्गत धरानबाट अनुगमन टोली पठाइएको छ।


श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद Harka Sampang Rai ले चुनावअघि नै दार्चुलामा तुइन हटाएर पुल बनाउने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार अहिले पुल निर्माणका लागि पहल तीव्र बनाइएको हो।


पुल निर्माणका लागि सम्भावित स्थानहरूको अध्ययन गर्न सर्वेक्षण टोलीसहित इन्जिनियरहरू दार्चुला पुगेका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य प्रसाद राईका अनुसार हालसम्म नौ वटा स्थानको अनुगमन गरिएको छ। तीमध्ये उपयुक्त स्थान छनोट गरी पुल निर्माण गरिने तयारी भइरहेको उनले जानकारी दिए।
उनका अनुसार अनुगमन टोलीले प्राविधिक रूपमा सहज, सुरक्षित र उपयुक्त स्थानको विस्तृत अध्ययन गरिरहेको छ। यदि प्रारम्भिक स्थानहरू उपयुक्त नभएमा आसपासका क्षेत्रहरूमा झोलुंगे पुल निर्माण गरिने सांसद राईको योजना रहेको पनि उनले बताए।
पुल निर्माणका लागि देशभरबाट सहयोग जुट्ने क्रम पनि तीव्र बनेको छ। विभिन्न जिल्ला तथा स्थानबाट सहयोगदाताहरू धरानस्थित श्रम संस्कृति पार्टीको कार्यालय पुगेर आर्थिक सहयोग प्रदान गरिरहेका छन्।
सहयोगदाताहरूले दार्चुलाजस्तो विकट क्षेत्रमा तुइन प्रयोग गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्न पुल निर्माण अत्यन्त आवश्यक रहेको बताएका छन्। सांसद राईको पहललाई सकारात्मक र साहसी कदमको रूपमा लिँदै उनीहरूले सहयोग गरेका हुन्।
यस अभियानमा नेपालभित्र मात्रै नभई भारतको सिक्किम र दार्जिलिङबाट पनि सहयोग आउन थालेको छ। हालसम्म करिब ५० लाख रुपैयाँ बराबरको सहयोग संकलन भइसकेको जानकारी दिइएको छ।


सिक्किम र दार्जिलिङबाट धरान घुम्न आएका नागरिकहरूले पनि दार्चुलामा पुल निर्माण गर्ने अभियान प्रभावकारी र मानवीय भएको भन्दै सहयोग गरेका बताएका छन्।
दार्चुलामा सुरक्षित आवागमन सुनिश्चित गर्न पुल निर्माणको यो अभियानलाई अहिले व्यापक जनसमर्थन प्राप्त भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार