नेभिगेशन
समाचार

देशभर उल्लासका साथ मनाइँदै इद उल फित्र, मुस्लिम समुदायमा खुशीयाली

धरान । धरानसहित देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाएका छन्। अरबी पात्रोअनुसार हिजरी संवत्को नवौँ महिनाभरि निराहार व्रत (रोजा) पूरा गरेपछि यो पर्व मनाउने गरिन्छ।


धरानमा पनि बिहानैदेखि मस्जिद तथा इदगाहहरूमा भक्तजनको उपस्थिति बाक्लिएको थियो। मुस्लिम धर्मावलम्बीहरूले विशेष नमाज अदा गर्दै एकअर्कासँग शुभकामना आदानप्रदान गरेका छन्।
एक महिनासम्मको कठोर उपवासपछि आउने यो पर्वलाई आत्मसंयम, त्याग र आध्यात्मिक शुद्धताको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा नयाँ लुगा लगाउने, मिठा परिकार बनाउने तथा आफन्तजनसँग भेटघाट गर्ने परम्परा रहेको छ।


विशेष नमाजपछि तीन दिनसम्म आफूभन्दा ठूला–बडाकहाँ गई आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने चलन पनि प्रचलित छ। बालबालिकालाई ‘इदी’ दिने परम्पराले पर्वको उत्साह अझ बढाएको देखिन्छ।


देशका विभिन्न स्थानमा रहेका मस्जिदहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। समुदायबीच भाइचारा, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने सन्देश बोकेको यस पर्वले समाजमा एकता र मेलमिलापको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।


यस अवसरमा सरकारका उच्च पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका छन्।
इद उल फित्र ले नेपाली समाजमा विविधताबीचको एकता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार