नेभिगेशन
समाचार

धरान–४ खैरेनी टोलमा श्रमदानबाट सडक ढलान, लाखौं खर्च बचत

धरान — धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित खैरेनी टोलमा श्रमदानमार्फत सडक ढलान कार्य सम्पन्न गरिएको छ। श्रम संस्कृति पार्टी को पहलमा करिब ४०० फिट लामो सडक स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण गरिएको हो।


उक्त योजना माननीय हर्क साम्पाङ राई ले काठमाडौँ प्रस्थान गर्नुअघि नै तयार पारेका थिए। तर, आज परेको वर्षाका कारण सडक पूर्ण रूपमा ढलान गर्न नसकिएको जनाइएको छ।
धरान–४ का पूर्व वडाध्यक्ष धनबहादुर राई का अनुसार योजनामा गिटी, बालुवा र सिमेन्ट खरिदमा मात्र खर्च भएको हो भने बाँकी सम्पूर्ण काम श्रमदानबाट सम्पन्न गरिएको हो। यसरी काम गर्दा करिब १ देखि २ लाख रुपैयाँसम्म खर्च बचत भएको उनले बताए।


श्रमदान कार्यक्रममा श्रम संस्कृति पार्टीसँग आबद्ध स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामूहिक प्रयासबाट आफ्नै टोल–बस्ती विकास गर्न सकिने सन्देश यस कार्यले दिएको छ।
यसै अवसरमा समानुपातिक सांसद अम्बिका संग्रौला को समेत उपस्थिति रहेको थियो। उनले श्रमदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै संसदमा जनताको मुद्दा उठाउने बताइन्। साथै, महिला समाजमा विद्यमान विकृति तथा महिला हिंसाविरुद्ध आवाज बुलन्द गर्ने उल्लेख गरिन्।
संग्रौलाले अब श्रम संस्कृति पार्टीका माननीयहरू, हर्क साम्पाङ राई सहित समानुपातिक सांसदहरू काठमाडौँ जाने तयारीमा रहेको जानकारी दिइन्।
स्थानीयस्तरमा गरिएको यस्तो श्रमदान कार्यले सरकारी बजेटमा निर्भर नभई सामूहिक प्रयासबाट विकास सम्भव हुने उदाहरण प्रस्तुत गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार