नेभिगेशन
समाचार

ट्राभल एजेन्सीको आवरणमा सर्वसाधारण ठगी, ७ जना पक्राउ

धरान— ट्राभल एजेन्सीको आवरणमा सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।


प्रहरीका अनुसार Sheertel Holidays Pvt. Ltd. नामक ट्राभल एजेन्सी सञ्चालन गरी “सस्तोमा युरोप, एसिया तथा अफ्रिकालगायत १५५ देशमा भ्रमण गराइदिने” प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुली गरिएको थियो। गिरोहले “ट्राभल लटरी परेको” भन्दै झुक्याएर रकम लिने तर न त यात्रा गराउने, न त पैसा फिर्ता गर्ने गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको हो।


अनुसन्धानका क्रममा संलग्न मुख्य अभियुक्त विवेक रेमी (२६) पक्राउ परेका छन्। साथै घटनामा संलग्न अन्य ६ जना भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा हुसैन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसैन र राजा महम्मद रहेका छन्। उनीहरू हैदराबाद, तेलंगाना का बासिन्दा भएको खुलेको छ।


प्रहरीले बालकुमारीस्थित उक्त एजेन्सीको कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो। हाल उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


प्रहरीले यस्ता ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै आकर्षक अफर, लटरी तथा सस्तो भ्रमणका नाममा पैसा माग्ने संस्थाबारे अनिवार्य रूपमा छानबिन गर्न सुझाव दिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार