नेभिगेशन
समाचार

इटहरीका चार वडामा बर्ड फ्लु पुष्टि, हजारौं कुखुरा नष्ट

धरान — इटहरी उपमहानगरपालिकाका विभिन्न चार वटा वडामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएको छ। इटहरी पशुपन्छी शाखाका अधिकृत दुर्गाबहादुर श्रेष्ठका अनुसार स्थानीय कुखुरा फार्महरूमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको हो।
प्रारम्भिक रूपमा नमुना परीक्षण प्रदेश पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा गरिएको थियो। त्यहाँबाट प्राप्त र्‍यापिड टेस्टको नतिजापछि थप पुष्टि गर्न केन्द्रमा पठाइएको नमुनामा बर्ड फ्लु पोजिटिभ देखिएको हो।
संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिका–१९ स्थित ओको कृषि फार्ममा रहेका १२ हजार कुखुरामध्ये ११ हजार २ सय कुखुरा नष्ट गरिएको छ। त्यस्तै, वडा नम्बर ११ मा रहेको आलम कृषि फार्ममा ५ सय ५० कुखुरा नष्ट गरिएको छ।
यसैगरी वडा नम्बर १८ मा रहेको रानी कृषि फार्ममा पनि संक्रमण देखिएपछि १ हजार ९ सय ३० कुखुरा नष्ट गरिएको सम्बन्धित निकायले जनाएको छ।
संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा आवश्यक नियन्त्रण तथा रोकथामका उपायहरू अपनाइएको छ। सम्बन्धित निकायले कुखुरा फार्म व्यवसायी तथा कुखुरा विक्रेताहरूलाई उच्च सतर्कता अपनाउन, जैविक सुरक्षा मापदण्ड पालना गर्न र शंकास्पद अवस्थामा तुरुन्त जानकारी दिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्