नेभिगेशन
समाचार

धरान कार्यपालिकाको निर्णय: हर्क साम्पाङले हटाएका कर्मचारीलाई काममा फर्काउने

धरान । धरान उपमहानगरको कार्यपालिका बैठकले निवर्तमान नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले हटाएका कर्मचारीलाई काममा फर्काउने निर्णय गरेको छ । 

साम्पाङले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै कर्मचारीलाई पालिकामा हाजिरी गर्न बन्चित गराएका थिए । कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले हटाइएका कर्मचारीलाई काममा फर्काउने निर्णय गरेको हो ।

उपमहानगरपालिकामा निर्देशक पदमा रहेकी प्रज्ञादेवी निरौला र नगर प्रहरी विष्णु कोइरालालाई पुन: काम आउन आज बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको कार्यवाहक प्रमुख बेघाले बताए । 

कोशी राजमार्गको मापदण्ड (१०५ फिट) विपरीत नक्सापासका लागि हस्ताक्षर गर्न नमानेका कारण निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेकेकी निरौलालाई तत्कालीन प्रमुख साम्पाङले बिदामा बस्न उर्दी गरेका थिए । 

लामो समय धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि मन्त्रालयले उपसचिव भूपेन्द्र राईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको थियो । निरौलाले आफू सहसचिव भएकाले उपसचिवको मातहतमा निर्देशकका रुपमा काम गर्दै आएकी थिइन् । यसका विरुद्ध उनले कानूनी उपचारका लागि अदालत गएकी थिइन् । अदालतले निरौलाकै पक्षमा फैसला गरे पनि पालिकाले निरौलालाई हाजिर गर्न दिएको थिएन । 

नगर प्रहरी कोइरालालाई तत्कालीन नगर प्रमुखले बिदामा बस्न सूचित गरेका थिए । कार्यसम्पादनमा तत्कालीन प्रमुख साम्पाङले चित्त नबुझाएपछि कोइरालालाई बिदा दिइएको थियो । बिहीबार बसेको कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख बेघाले लामो समय कर्मचारीलाई बिदामा बसाउन नहुने भन्दै हाजिर गराउने प्रस्ताव गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार