नेभिगेशन
समाचार

हर्क साम्पाङले बिदा दिएका धरान नगर प्रहरी प्रमुखको पुन: हाजिरी कि नियुक्ति ?

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले बिदा गरेका धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णुप्रसाद कोइरालालाई बिहीबार बसेको कार्यपालिका बैठकले पुन: हाजिर गराउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले पुन: हाजिरी गराउने प्रस्तावलाई अनुमोदन गरेको छ । तर उनको साविकको पद नगर प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट घटुवा गरेर प्रहरी नायब निरीक्षक (सई) मा  नियुक्ति गर्ने निर्णय भएको खुलेको छ ।

कार्यपालिका बैठकमा कोइरालाको नियुक्तिका विषयमा प्रस्ताव पेश गर्दै  धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघाले लामो समय बिदामा राख्न नमिल्ने भएकाले पुन: हाजिरी गराउने प्रस्ताव पेश गरेका थिए । उनलको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । 

'हाम्रो विष्णु कोइरालाको बारेमा चाहिँ उहाँलाई बिदामा बस्न भनेर  पूर्वनगरप्रमुखज्यूले भन्नु भा रैछ, बिदामा बस्नु भनेर.. अब बिदा लामो भयो । अब नयाँ नीतिका हिसाबले अब त लामो त राख्न मिलेन,' बिहीबार १८औं नगर सभा बस्नुअघि आयोजित कार्यपालिका बैठकमा  धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख बेघाले प्रस्ताव पेश गर्दै भने, 'अब अहिले के गर्ने भन्दाखेरि उहाँलाई वारुणयन्त्रको जिम्मामा रहने गरी एउटा त्यही खाल्को बनाएर उहाँलाई पुन: हाजिर, बिदालाई हाजिरमा बदल्नका निम्ति यहाँ प्रस्ताव गर्छु ।' 

बिदामा रहेका धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर कोइरालाले बिटिभीनेपालसँगको कुराकानीमा आइतबारदेखि हाजिर गर्नू भन्ने जानकारी प्राप्त भएको बताए । उनले आफ्नो पुन: हाजिरी हो वा नियुक्ति हो भन्ने विषयमा अन्योल रहेको बताए । 'आइतबार बोलाउनु भएको छ, अफिस गएपछि मात्र थाहा हुन्छ, थाहा नभएको विषयमा बोल्न मिल्दैन ।' कार्यपालिकाले तोकेको जिम्मेवारी मिडियाबाटै थाहा पाएको कोइरालाले प्रतिकृया दिए । 

कोइरालालाई वारुणयन्त्र विभागमा सईको जिम्मेवारी दिने निर्णय भएको एक कार्यपालिका सदस्यले बताए । कोइरालालाई घटुवा गरेको हो ? भन्ने प्रश्नमा घटुवा नभई वारुण यन्त्रको जिम्मेवारी दिने प्रस्तावमाथि अनुमोदन भएको कार्यपालिका सदस्यले बताए । उनका अनुसार  कोइराला बिदा बसेपछि कार्यपालिका बैठकले निर्णय गर्दै प्रकृयासम्मत ढंगले नयाँ नगर प्रहरी प्रमुख इन्स्पेक्टर पदमा पदपूर्ति गरिएको थियो । इन्पेक्टर पदमा पदपूर्ति भएपछि कोइरालालाई वारुणयन्त्रको सई पदमा जिम्मेवारी दिने निर्णय भएको ती कार्यपालिका सदस्यको भनाइ छ ।    

धरान १३ मा प्रदेश सरकारको लगानीमा निर्माणाधीन ग्याबिन वाल भत्काउन तत्कालीन नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले निर्देशन दिएका थिए । कोइरालाले निर्देशन नमानेपश्चात अन्यायपूर्ण तरिकाले बिदामा बस्न साम्पाङले पत्र थमाएको बताइएको छ । झण्डै डेढ वर्षअघिदेखि बिदामा रहेका उनलाई पदमुक्त गरिएको थियो । उनी पदमुक्त भएपछि नयाँ नगर प्रहरी प्रमुखको नियुक्ति गरिएको थियो । 

तत्कालीन नगर प्रमुख साम्पाङको मौखिम आदेशमा ग्याबिन वाल भत्काएका तत्कालीन नगर प्रहरीका असई सुरेश मग्राती भने हिरासतमा पुगेका थिए । बिदामा बसाएर पदमुक्त गरिएका नगर प्रहरी प्रमुख इन्स्पेक्टर कोइरालालाई हाल बारुणयन्त्रको सईमा जिम्मेवारी दिने निर्णय भएको उपमहानगर स्रोतको भनाइ छ । स्रोतका अनुसार नगर प्रहरीमा पुनः हारिज नभई नियुक्ति गर्ने तयारी छ ।  हाजिर गराउँदा इन्स्पेक्टरमै गराउनु पर्ने भए पनि कोइरालालाई सई पदमा नयाँ नियुक्ति दिन लागिएको उपमहानगर स्रोत बताउँछ । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले इन्स्पेक्टर कोइरालाका विषयमा जानकारी नभएको बताए । उनले कागजात हेरेर प्रतिकृया दिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार