नेभिगेशन
राजनिती

हर्क साम्पाङको ठट्यौली, ‘महेन्द्र हाइवे भन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो !’

धरान । सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’ मा पूर्वपश्चिम राजमार्गलाई साविककै 'महेन्द्र राजमार्ग' उल्लेख गरेपछि सुनसरी-१ का प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘यलम्बर राजमार्ग' राख्न प्रस्ताव गरेका छन् ।

उनको यस्तो टिप्पणी सामाजिक सञ्जालमार्फत आएको हो । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महेन्द्र हाइवे भन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो !’ उनले आफ्नो अभिव्यक्तिलाई ठट्यौलीका रुपमा प्रस्तुत गरेका छन् । 

सरकारको प्रतिबद्धता पत्रमा महेन्द्र राजमार्गलाई आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय राजमार्गको मापदण्डमा स्तरोन्नति गरिसक्ने लक्ष्य छ । वि.सं. २०१८ सालमा निर्माण सुरु भएको यो राजमार्गको शिलान्यास तत्कालीन राजा महेन्द्रले गरेका थिए र उनकै नामबाट राजमार्गको  नामकरण गरिएको थियो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राजमार्गको नाम परिवर्तन गरी ‘पूर्व–पश्चिम राजमार्ग’ राखिएको थियो ।

सरकारी दस्तावेजमा पुरानै नाम प्रयोग भएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । सोही सन्दर्भमा साम्पाङले किराती राजा यलम्बरको नामबाट राजमार्गको नामकरण हुनुपर्ने भन्दै ठट्यौली गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती