नेभिगेशन
समाचार

विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेका धरान आसपासका यी क्षेत्र

धरान । गत प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार महेश श्रेष्ठले यस क्षेत्रका केही सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

निर्वाचनमा उनले पराजय बेहोरे तर उनको यो प्रतिबद्धता यस क्षेत्रको गौरवसँग जोडिएको छ । आज विश्व सम्पदा दिवस विश्वभर मनाइँदैछ । सम्पदा पदयात्रा, संरक्षण सम्बन्धी अन्तर्क्रिया र जनचेतनामूलक कार्यक्रम गरिंदैछ । 

विश्व सम्पदा दिवस (वर्ल्ड हेरिटेज डे) हरेक वर्ष अप्रिल १८ मा विश्वभर मनाइन्छ । युनेस्कोको पहलमा सन् १९८३ देखि सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण र यसको महत्त्वबारे जनचेतना जगाउन यो दिवस मनाउन थालिएको हो । ऐतिहासिक धरोहरहरूको जगेर्ना गर्न र नयाँ पुस्तालाई सम्पदाको महत्व बुझाउन यो दिवसको विशेष भूमिका रहन्छ । 

सुनसरीका स्थानीय तहले विश्व सम्पदा सम्बन्धी गतिविधि गर्ने कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरेका छैनन् । कारण, यहाँ विश्व सम्पदा सूचीमा समावेश सम्पदा नै छैनन् । तर सम्भावित सम्पदाहरू भने उल्लेखनीय छन् । 

स्थानीय सरकारले स्थानीय सम्पदाको संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहलसमेत गरेको देखिँदैन । 

यस्ता छन् विश्व सम्पदा सूचीमा सूचीकृत हुने मुख्य मापदण्ड 

विश्व सम्पदा सूचीमा सूचीकृत हुन मानिसद्वारा निर्मित उत्कृष्ट संरचना वा प्राकृति संरचना हुनुपर्छ । युनेस्कोका अनुसार सूचीकरण प्रकृयाका मुख्य तीन चरण छन् । यसका लागि सम्बन्धित देशले प्रस्ताव गर्नुपर्छ । विज्ञहरूले त्यसको निरीक्षण गर्छन् र युनेस्कोको निर्णायक समितिको मतदानपछि सम्पदा सूचीकृत हुन्छ । 

त्यसका लागि स्थानीय सरकारले त्यस्ता क्षेत्रहरूको पहिचान गरी तिनलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रका रुपमा घोषणा गर्नुपर्छ । यी क्षेत्रको संरक्षण गर्नेबारे छलफल, अन्तर्कृया र प्रतिबद्धता हर्नुपर्छ । स्थानीय सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार  ‘स्मारक क्षेत्र’ घोषणा गर्नेलगायत प्रारम्भिक काम सम्पन्न गर्नुपर्छ । 

स्थानीय सरकारले आधारभूत काम सम्पन्न गरेपछि सङ्घीय  सरकारको मन्त्रिपरिषदले निर्णय गरेर युनेस्कोमा पठाउँछ । त्यसपछि युनेस्कोको पुरातत्व विज्ञको टिमले अनुगमन र निरीक्षण गर्छ । 

युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत हुन कुनै पनि सम्पदाले असाधारण र विशिष्ट महत्त्व उजागर गर्नुपर्छ । यसका मुख्य आधारहरूमा ऐतिहासिक, सांस्कृतिक, वा प्राकृतिक महत्त्व, उच्च कलाकृति, मानव इतिहासको साक्षी, वा दुर्लभ जैविक विविधता र संरक्षणलगायत मापदण्ड रहन्छन् । त्यसमध्ये पनि भूगर्भिक इतिहास अर्थात् पृथ्वीको इतिहासको प्रतिनिधित्व गर्ने स्थल मौलिकता कायम रहेको हुनुपर्छ । 

यस्ता छन् विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने धरान आसपासका सम्पदा 

वराहक्षेत्र धाम

1000145453-1776493792.jpg

वराहक्षेत्र धाम सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका-१ मा पर्छ । सप्तकोशी नदीको किनारमा अवस्थित यो क्षेत्र धार्मिक पर्यटकीय, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण छ । १ हजार ५ सय वर्षअघिको हुन सक्ने अनुमान गरिएको वराह भगवानको प्रस्तर मूर्ति यहाँ छ । अन्य सयौं वर्षअघिका प्रस्तर मन्दिर वरपर छन् । 

पौराणिक मान्यताअनुसार विष्णु भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेको क्षेत्र हो यो । यहाँ निल वराह, श्वेत वराह, आदिवराहलगायतका पौराणिक देवस्थल छन् । भारतलगायत तेस्रो मुलुकका हिन्दूहरूको पवित्र तीर्थस्थल हो वराहक्षेत्र धाम । अढाई सय वर्षअघिको इतिहास भेटिने सिद्धपुरुष औलिया बाबाको मठ, यहाँ वरपरका लालकोट गढी दरबार, हिन्दूपति राजको दरबार, सेनकालीन दरबारका अवशेषहरू विद्यमान रहेकाले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिनुपर्छ । 

सप्तकोशी नदी 

1000145457-1776493854.jpg

सप्तकोशी नदी हिम नदी हो । दूधकोशी, भोटेकोशी, सुनकोशी, लिखु, इन्द्रावती, अरुण, तमोरलगायतका हिम नदी मिसिएर भारत हुँदै गङ्गामा गएर यो नदी समाहित हुन्छ । 

वैदिक कालदेखि सप्तकोशी नदीको महत्वलाई धार्मिक शास्त्रहरूले उजागर गरेका छन् । वैदिक, मुन्धुम र मानव सभ्यताको दृष्टिकोणले यो क्षेत्र मानव सभ्यताको विकासको पहिलो विन्दू हो । कोशी सभ्यताको जननी यो नदी मानव सभ्यता विकासको कोशेढुंगा पनि हो । सप्तकोशी नदी किनार धर्तीको पहिलो तीर्थस्थलको मान्यता, ऋगवेदको रचना स्थल र किराँती मुन्धुममा वर्णित आस्थाको केन्द्र खुवालुङको अवस्थितिजस्ता पक्षले यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिनुपर्ने देखिन्छ । 

कोशी टप्पु वन्यजन्तु आरक्ष 

1000145455-1776493903.jpg

कोशी टप्पु वन्यजन्तु आरक्ष दक्षिण एसियामै अर्ना (जंगली भैंसी ) को संरक्षित क्षेत्र हो । र देशकै पहिलो र एकमात्र वन्यजन्तु आरक्ष हो । 

वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् १९८७ रामसार सूचीमा सूचीकृत नेपालको पहिलो ठूलो रामसार क्षेत्र हो । यहाँ  ४८९ प्रजातिका चरा, ३०० को संख्यामा दुर्लभ अर्ना छन् । डल्फिन, पुतली, साइबेरियादेखि आउने घुमन्ते चरालगायत जलथल प्राणीहरूको बासस्थान हो यो क्षेत्र ।

विजयपुर दरबार क्षेत्र/ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा 

1000145452-1776493940.jpg

धरान उपमहानगरपालिका-१४ मा पर्ने विजयपुर दरबार क्षेत्र र आसपासका मठ मन्दिरहरू धार्मिक, ऐतिहासिक र पूरातात्विक दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । 

डेढ शताब्दीअघि मणि मुकुन्द सेनको राज्य विस्तारसँग जोडिएको ऐतिहासिक स्थल हो विजयपुर गढी क्षेत्र । नेपाल र एसियाली अनुसन्धान केन्द्रले २०५५ सालमा निकालेको डिल्लीराज शर्माकृत ‘नेपालको किल्ला वास्तुकला’ पुस्तकमा विजयपुर गढीको इतिवृत्ति छ । अर्का इतिहासविद् इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ कृतिमा विजयपुर गढी र दरबारबारे लेखेका छन् ।

विजयपुर क्षेत्रमा तत्कालीन लिम्बुवान शासक र सेनवंशी राजाको दरबार रहेको बताइन्छ । यो क्षेत्रमा विजयनारायण र बुद्धिकर्ण रायको दरबार रहेको मान्यता छ । 

यस्तै पिण्डेश्वर, दन्तकाली मन्दिर धार्मिक पौराणिक महत्वसँग  नजिक छ भने यहाँको बुढासुब्बा मन्दिर मानव सभ्यता र सिकारी युगको सन्दर्भसँग जोडिन्छ । 

धरान र आसपासमा यस्ता ऐतिहासिक, पुरातात्त्विक र मानव सभ्यताको विकाससँग जोडिएका सम्पदाहरू छन् । स्थानीय सरकारले यसको सरक्षण गर्दै भावी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न पनि यी क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी थाल्नुपर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार