नेभिगेशन
समाचार

'बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन् तर खोलाकै पुल बन्न सकेन'

रामपुर (उदयपुर) । बेलका नगरपालिका-३ मा अवस्थित गिदेरी खोलामा निर्माणाधीन पक्की पुल बाह्र वर्ष बितिसक्दा पनि पूर्ण रुपमा निर्माण भइसकेको छैन ।

बर्खामा स्थानीयलाई सहज आवागमनका लागि निर्माण सुरु गरिएको बाह्र वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त गतिमा रहेको स्थानीय बताउँछन् । 

'पुल बनेपछि सजिलो होला भनेको बाह्र वर्ष बितेर अब त तेह्र वर्ष लाग्यो', बेलका-३ सातपत्रेका स्थानीय देवनारायण चौधरीले गुनासो गरे, 'पक्की पुल बनेको देख्नै नपाइने हो कि भन्ने चिन्ता छ । बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन् तर खोलाकै पुल बन्न सकेको छैन ।'

२०७० सालमा कुल १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँ लागतमा २१८ मिटर लम्बाइ तथा सात वटा वेल फाउन्डेसन पिल्लर र छ वटा स्पान रहेको गिदेरी खोलाको पुलको निर्माणको ठेक्का लागेको थियो । 

उक्त पुल निर्माणका लागि २०७१ साल असार २५ गते पप्पु/मृत सञ्जीवनी जेभी बानेश्वरले दुई करोड रुपियाँ लहानस्थित डिभिजन सडक कार्यालयबाट पेस्की लिएर काम सुरु गरेको थियो । 

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले 'बिलो रकम' साढे १३ करोडमा ठेक्का पारेको थियो । उसले मृत सञ्जीवनीलाई कमिसनमा निर्माणको काम सुम्पिएको थियो । तर, बितेका बाह्र वर्षमा पक्की पुल सम्पन्न हुने दिशामा अघि नबढेको स्थानीयको गुनासो छ । 

Gideri-Khola-Pul-BTVnepal-Image1-1777954869.jpg
'६ स्पानको पक्की पुलको हाल ४ वटा स्पानको काम सकिएको छ । अझै २ वटा स्पानको काम गर्न बाँकी देखिन्छ ।' सातपत्रेका स्थानीय चौधरीले भने ।

सञ्चार माध्यमले पुल निर्माण हुन नसकेको बारम्बार खबरदारी गरे पनि ठेकेदारको लापरबाही र सम्पर्कविहीनताका कारण पुलको काम हुन नसकेको स्थानीयको आरोप छ । ठेकेदार कम्पनीले समयमा काम नगरी बीचमै छाडेको र लिएको पेस्की रकम पनि फिर्ता गरेको थियो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेको भन्दै स्थानीय सरकारले पुल निर्माणको काममा रोकसमेत लगाएको थियो । 

गिदेरी खोलाको यो पुल निर्माण नहुँदा बेलका- १, २, ३ र ४ का बासिन्दाले बर्खामा समस्या भोग्दै आएका छन् । गिदेरी खोलाका कारण वर्षौंदेखि सास्ती भोग्दै आएका स्थानीयले  तीनै तहका चुनावमा पुल बन्ने आश्वासन पाउँदै आएका छन् । तर बाह्र वर्षदेखिको चुनावी प्रतिबद्धता पूरा हुन सकेको छैन ।

Gideri-Khola-Pul-BTVnepal-Image2-1777955999.jpg
Gideri-Khola-Pul-BTVnepal-Image3-1777955999.jpg
ड्रोन तस्बिर : बिटिभी नेपाल/ सुहाङ कुलुङ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार

बर्खाअघि नै टप्पुमा तटबन्ध !