नेभिगेशन
समाचार

कोशीको 'कोस्टल एरिया' लाई 'बाली' बनाउने 'बालेनको योजना' नीति तथा कार्यक्रममा छैन

धरान । गत प्रतिनिधिसभाको निर्वाचनअघि सप्तकोशी नदीमा बालेनले मोटरबोट चलाए । 

'ओहो सबै कुरामा पोख्त बालेन' भन्दै उनको प्रशंसा गरियो । किरात राई जातिको आस्थाको केन्द्र खुवालुङमा पूजा अर्चना गरे । उनलाई 'सहिष्णु' भनियो । त्यसलगत्तैको चुनावी इटहरीमा आयोजित चुनावी अभियानमा बालेनले सप्तकोशी नदीमा आधारित सम्भावनाको विकास गर्ने भाषण गरे । उनले कोशीका कोस्टल एरिया (नदी किनाराका क्षेत्र) लाई मालदिभ्स र इन्डोनेसियाको 'बाली' बनाउने सपना देखाए । छोटो भाषणमा बालेनले कोशी नदी र यहाँको सम्भावना बारे बोल्दा सबै मख्ख परे । 

koshi-rever-1778567991.jpg

बालेनले चुनाव जिते । प्रधानमन्त्री निर्वाचित भए । तर  प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी प्रतिबद्धता पूरा गर्नेबारे दुई अक्षर खर्चिएनन् । उनको नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा कोशीका सम्भावनाबारे कुनै कुरा लेखिएन । 

सोमबार संघीय सदनका दुवै सभामा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको २९ औं बुँदामा नेपालका नदीहरूलाई केवल जलस्रोत मात्र नभई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वको आधारमा समेत संरक्षण गर्ने राष्ट्रिय नीति अवलम्बन गरिने भनिएको छ । तर पर्यटकीय विकास र जलपर्यटनको कुरा गरिएको छैन । 

धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका नदीहरूको वैज्ञानिक अध्ययन गरिनेछ भनिएको छ । तर पर्यटनसँग जोडिएको छैन । नदीसँग जोडिएका आदिवासी समुदाय, परम्परा र आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै आगामी पुस्ताका लागि स्वच्छ, निरन्तर बहने नदी प्रणाली सुनिश्चित गरिनेछ । नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन लागु गर्दै जलविद्युत, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय लाभहरू समेट्ने बहुउद्देश्यीय आयोजना विकास गरिनेछ । भनिएको छ । तर कोस्टल एरियाको विकासमा नीति तथा कार्यक्रम मौन छ । 

Borabadh-1778567988.jpg

आगामी दशकमा तीस हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गरिने उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रमको ४० औं बुँदामा नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, ऱ्याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्प, स्काइडाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने भनिएको छ । जलयातायातको विषय उप्काइएको छैन । 

koshi-resort-1778567991.jpg

नीति तथा कार्यक्रमको ६१ औं बुँदामा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न भूमिगत जल पुनर्भरण, वर्षातको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना र मुहान संरक्षणलाई प्राथमिकता दिइने भनिएको छ । बरु बोतलको पानीको ब्रान्डिङ गर्ने उद्देश्यले 'हिमालयन ओरिजिन सर्टिफाइड वाटर' को  अवधारणा ल्याइएको छ । कोशी नदी क्षेत्रलाई तटबन्ध गर्ने, पानी जहाजको परिकल्पनालाई साकार गर्ने, कोशी नदीमा आधारित साहासिक खेल पर्यटनको विकासका लागि नीति तथा कार्यक्रमले बोलेको देखिँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार