नेभिगेशन
समाचार

तरहरा जंगलमा नवजात शिशु फेला, समयमै उद्धारपछि अवस्था सामान्य

धरान ।  सुनसरीको तरहरा–२० स्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडीभित्र पोको पारेर राखिएको अवस्थामा एक नवजात शिशु फेला पारेकी छन् ।

घाँस काट्ने क्रममा शंकास्पद पोको देखेपछि नजिकै गएर हेर्दा भर्खरै जन्मिएको शिशु एक्लै चिसोमा छाडिएको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको बताएकी छन् । 

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर  शिशुको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि शिशुलाई इटहरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले शिशुको अवस्था सामान्य रहेको बताएका छन् । समयमै उद्धार भएकाले शिशुको ज्यान सुरक्षित रहन सफल भएको प्रहरीले जानकारी दिएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरी मार्फत शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको संरक्षण तथा स्याहारका लागि जिम्मा लगाइएको इटहरी प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार